परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन वार्ता, के कुरा भयो ?

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन वार्ता, के कुरा भयो ?

११ असार, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन् ।
संवादका क्रममा उनीहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरेका थिए । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरेका छन् ।

मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए ।

दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरेका छन् ।

अहिले नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज करोपोरेसन ९एमसीसी० बारे तिब्र बहस र धुर्बिकरण चलिरहेका बेला दुवै देशका विदेशमन्त्रीहरुको कुराकानीलाई एमसीसीसँग पनि जोडेर हेरिएको छ । जुन ३० सम्म एमसीसी संसदबाट पारित गर्नुपर्ने डेडलाइन रहेकाले सरकारले सो म्याद थप्न अमेरिकालाई अनुरोध गर्ने तयारी गरेको बुझिएको छ । अहिले सत्तारुढ दलभित्र एमसीसी बारे तिब्र विवाद रहेको छ भने जारी स्थायी कमिटी बैठकले यसलाई टुंगाउने विश्वास गरिएको छ ।

Loading
TOP