ब्राजिल र दक्षिण अफ्रीकामा अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिनको ट्रयाल शुरु
११ असार, काठमाडौँ । कोरोनाको उपचारको लागि सफलताको हिसाबले अहिलेसम्म सबै भन्दा नजिक रहेको बेलायतमा बनिरहेको भ्याक्सिनको ब्राजिल र दक्षिण अफ्रिकामा मानिसमा ट्रायल शुरु भएको छ ।
बिबिसीका अनुसार अक्सफोर्ड युनिभर्सिटीले बनिरहेको सो भ्याक्सिन बुधबार दक्षिण अफ्रिका र ब्राजिलमा शुरु भएको हो ।
विश्वभर कोरोना संक्रमण तिब्र गतिमा बढिरहेका बेला यो भ्याक्सिनको ट्रायलले कोरोना नियन्त्रणमा छिटै सफलता मिल्न सक्ने अपेक्षा गरिएको छ ।
यो भ्याक्सिनको प्रयोगको लागि ब्राजिल नै चुनिनुमा अहिले तिब्र गतिमा फैलिरहेको नै प्रमुख कारण मानिएको छ । बेलायतमा कोरोनाको पहिलो लहर अब कम हुने क्रममा रहेकोले ट्रायल सफल हुनेमा आशंका गर्दै विज्ञानिकहरुले तिब्रगतिमा अहिले संक्रमण भइरहेको ठाउ ब्राजिल रोजेका हुन् । त्यस्तै दक्षिण अफ्रिकाले विगतमा इबोला, एड्स जस्ता रोग नियन्त्रणमा भूमिका खेलेको र अहिले कोरोनापनि बढ्ने क्रममा रहेकाले रोजिएको वैज्ञानिकहरुले बताएका छन् ।
ब्राजिलमा यस भ्याक्सिनको ट्रायलका लागि साओ पालो फेडरेल युनिभर्सिटीले सहकार्य गरिरहेको छ भने दक्षिण अफ्रीकामा युनिभर्सिटी अफ विटवाटरस्रेडले सहकार्य गरेको छ ।
अक्सफोर्डको यो भ्याक्सिन बनाउने काममा बेलायतको औषधि बनाउने कम्पनि एस्ट्राजेनेकाले साझेदारी गरेको छ ।
दक्षिण अफ्रिकामा यस ट्रायलमा भाग लिनेहरु १८ देखि ६५ बर्ष उमेर समुहसम्मका रहेको बताइएको छ । यस ट्रायलमा भाग लिएकाहरु कैयौं एचआइभी संक्रमित समेत रहेका छन् ।
दक्षिण अफ्रिकाको सहभागिताले ट्रायल सफल भएमा अफ्रीकाले समयमै प्रयाप्त भ्याक्सिन पाउने विश्वास गरिएको छ ।
ChAdOx1 nCoV-19 भ्याक्सिनलाई AZD1222 नाम दिइएको छ ।
अक्सफोर्ड युनिभर्सिटीले यस अघि बेलायतमा चार हजार जनामा ट्रायल गरिसकेको छ भने अझै १० हजारलाई सहभगी गराउने योजना रहेको जनाएको छ ।
त्यस्तै यो भ्याक्सिनको ठुलो अध्ययन अमेरिकामा समेत गर्ने र ३० हजारलाई यस अध्ययनमा समावेश गराउने योजना रहेको अक्सफोर्डले जनाएको छ ।