कर्णालीमा संकटः डाक्टर आइसोलेसनमा, नागरिक क्वारेन्टाइनमा

कर्णालीमा संकटः डाक्टर आइसोलेसनमा, नागरिक क्वारेन्टाइनमा

१४ असार, सुर्खेत । कोरोना संक्रमणले कर्णाली प्रदेश भयानक संकटमा फसेको छ । संक्रमितलाई उपचार गर्ने डाक्टरहरु संक्रमित भएर आइसोलेसनमा बसेका छन् भने हजारौ नागरिक क्वारेन्टाइनमा छन् । महिनौदेखि क्वारेन्टाइन बसिरहेका १५ सय बढी नागरिकको स्वाव संकलन गरिएको छ तर परीक्षण गर्ने पिसीआर मेसिन बिग्रिएको कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका तीन ठाउँमा कोरोना परीक्षण हुने गरेको छ । सुर्खेत, जुम्ला र दैलेखमा पिसीआर परीक्षण हुने गरेको छ । प्रदेशको राजधानी सुर्खेतमा रहेको पिसीआर मेसिनमा समस्या आएको स्वास्थ्य महाशाखाका लक्ष्मीनारायण तिवारीले बताए । सुर्खेतमा रहेको पिसीआर मेसिन प्रदेश सरकारले खरिद गरेको होइन, उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले दानमा दिएका हुन् । दान दिएको मेसिनले काम गर्न छोडेको छ । सुर्खेतमा संकलन भएका स्वावहरु प्रदेश ५ को नेपालगञ्ज र जुम्ला पठाइएको छ ।

‘डाक्टरहरु संक्रमति भएर आइसोलेसनमा छन्, अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा बन्द भइसकेका छन्’ सांसद अमरबहादुर थापाले भने ‘स्वाव परीक्षण गर्ने पिसीआर मेसिन बिग्रिएको छ, हजारौ जनता महिनौदेखि क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणकोे आश गरि बसिरहेका छन् ।’

कर्णाली प्रदेशमा कोरोना संक्रमणकैबीच डेढ लाख मानिसहरु भित्रिएका थिए । तर क्वारेन्टाइनमा ४७ हजार ६ सय ३६ जना छन् । १ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्थानीय तहका क्वारेन्टाइनमा बसेका कतिपयको स्वास्थ्य परीक्षण नै नगरी घर पठाएको पनि छ । स्वास्थ्य परीक्षण नगरी पठाइएका नागरिकबाट समुदायमा कोरोना फैलिने त्रास पनि बढिरहेको छ ।

संक्रमितलाई रेखदेख गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरु कोरोनाको चपेटामा परेका छन् । चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानका ओपिडी सेवा बन्द गरिएका छन् ।
कर्णाली प्रदेशमा कोरोनाको भयावह अबस्था आउन थालेपछि नागरिक त्रसित बनेका छन् तर सरकार मौन बसेको छ । दानमा पाएको मेसिनका भरमा नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

Loading
TOP