धान दिवसमा प्रधानमन्त्रीको शुभकामना

धान दिवसमा प्रधानमन्त्रीको शुभकामना

१५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

१७औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा शुभकामना संदेश दिदै प्रधानमन्त्री ओलीले मुख्य उत्पादन र मुख्य कृषि बाली धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने उद्घोषका मनाइरहेको धान दिवसको अवसरमा सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ुनागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको छ । उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको छ । त्यसैगरी भोकमरीको अन्त्य गर्ने लगायत दिगो विकासका लक्ष्यहरु हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयन मार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको छ ।ु

प्रधानमन्त्री ओलीले माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताउदै सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताएका छन्

उनले भनेका छन्, ुसिँचाई सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिदै आएको छ । तथापि देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारहरुको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता रहन्छ । संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न म प्रदेश सरकारहरु र स्थानीय तहहरुलाई आह्वान गर्न चाहन्छु ।ु

संदेशमा प्रधानमन्त्रीले भनेका छन्, ुहामीले सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी छ । यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ ।ु

अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड १९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने प्रधानमन्त्री ओलीले स्पष्ट गरेका छन् ।

कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै उनले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक रहेको बताएका छन् ।

Loading
TOP