सलह किरा २७ जिल्लामा : कसरी गर्ने नियन्त्रण ?

सलह किरा २७ जिल्लामा : कसरी गर्ने नियन्त्रण ?

१७ असार, काठमाडौँ । गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलह मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएका हुन् ।

केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स(सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएका छन् ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो हो । भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।

यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । एउटा झुन्ड दाङको लमही र घोराहीमा पुगेको छ भने अर्को झुन्ड प्युठानको सदरमुकामतिर फैलिँदै गएको छ । प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको छ । केही झुन्डहरू लमहीको सानो झुन्ड कृषि बालीमा बसेको र अर्को ठूलो झुन्ड राप्ती नदीको किनारमा बसेको छ ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् । असार १३ गते बारामा देखा परेको झुन्ड टुक्रदै मकवानपुरको मकवानपुर गढीमा बसेको थियो । उक्त झुन्ड पनि टुक्रिएर चितवन पुगेको थियो भने केही झुन्ड मकवानपुर हुँदै काठमाडौं उपत्यकाका प्रवेश गरेको हो । मकवानपुरमा टुक्रिएको झुन्ड चितवनमा पुगेको छ । चितवनबाट पुनः टुक्रिएर कालिका, रत्ननगर र शक्तिखोर क्षेत्रमा मंगलबार पुगेको सलह सूचना केन्द्रले जानकारी दिएको छ ।

के हो सलह किरा ? 

सलह फट्याङ्ग्राको एक प्रजाती हो । यो एक किसिमको फौजी किरा हो । यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ जसबाट अहिले विश्वमा  भोकमरी र मानव स्थानान्तरणको समस्या सिर्जना गरेको छ।

वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बालीनालीलाई सखाप बनाउछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी किरालेभन्दा बढी क्षति पुर्‍याउने गरेको पाइएको छ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

सलह किरा पहिलो पटक अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पति भएको मानिन्छ । यसलाई निकै पुरानो प्रवासी शत्रुजीव रुपमा हेरिन्छ भने  अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो फैलिएको पाइएको छ ।

सलह किराहरु धेरै प्रजातीहरुका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह स्चिस्टोसेर ग्रेगारियालाई चिनिन्छ ।

अहिले पाकिस्तान हुदै भारत र भारत हुदै नेपालसम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा दुई ठूला आँधी साइक्लोन‍ले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ । जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढेको बताईन्छ । नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनीहरुले यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाई पार गरि अफ्रिका पुगेको विश्वास गरिन्छ ।

२०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्याँहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्यासम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ ।

जलवायु परिवर्तनका कारण सलह फैलिएको बताइएको छ भने यसको जैविक तवरबाट ब्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता आएको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्याएको थियो । विश्व खाद्य संगठनले अफ्रिकामा सलह किरा ब्यबस्थापनको काम गरेपनि अर्बौको लगानी गर्दा पनि यो बर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्य सङ्कटमा पर्ने जनाएको छ ।

त्यस्तै २०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरिएको थियो । २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५० हजार हेक्टरमा लगाएको बालीनाली सखाप बनाएको थियो ।

कसरी नियन्त्रण गर्ने ?

सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरु भईरहेका छन् ।

विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिने बताइएको छ । कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ । किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।

टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।

अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोग गर्न सकिन्छ । भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा  ग्रीन मसल भने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ । त्यस्तै सलहको प्राकृतिक सिकारीको रुपमा हाँसलाई परिक्षण गरिदैछ ।

साथै सरकारले सलहको पहिचान र व्यवस्थापनका लागि यस्तो अनुरोध गरेको छ :

Loading
TOP