बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक शुरू

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक शुरू

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।

१० असारबाट जारी स्थायी कमिटी बैठकको चौथो दिन हिजो, १६ असारमा अध्यक्ष ओलीसँग समकक्षी नेताहरूले पार्टी तथा सरकार दुवैको नेतृत्वबाट राजीनामाको माग गरेका थिए। आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओलीले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूसँग आज बिहान बालुवाटारमा परामर्श गरेका छन्।

परामर्शका क्रममा नेताहरूले प्रधानमन्त्री ओलीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न र बीचमै नेतृत्व नछाड्न सुझाव दिएका छन्। त्यसपछि ओली र प्रचण्डबीच केहीबेर छुट्टै वार्ता भएको भएपनि छलफलबाट के निष्कर्ष निस्कियो भन्ने खुलिसकेको छैन । दुई नेताबीच भएको छलफलको विषय स्थायी समिति बैठकमा जानकारी गराइने बताइएको छ ।

स्थायी कमिटीको अजेन्डामा सिमाना सम्बन्धी विवादको मुद्दा, सरकारको कामको समीक्षाअन्तर्गत कोभिड(१९ महामारी, पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने, एमसीसीलगायतका एजेण्डा बाँकी नै भएपनि हिजोको बैठक मूख्य अजेण्डामा प्रवेश गर्न पाएन।

Loading
TOP