सरकारले जनताको समस्या सुन्न चाहेन : कांग्रेस

सरकारले जनताको समस्या सुन्न चाहेन : कांग्रेस

१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चालु अधिवेशन अन्त्यको सिफारिस गर्दा सरकारले सामान्य जानकारीसम्म नदिएको भन्दै असन्तुष्टि जनाएको छ।

सामान्य अवस्थामा प्रमुख प्रतिपक्ष दलसँग सदन अन्त्यका बारेमा परामर्श हुने गरेको उल्लेख गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘अहिले अधिवेशनको अन्त्यको सिफारिस गर्दा हामीलाई सामान्य जानकारीसम्म दिइएन ।’ जनसरोकारसँग सम्बन्धित, कोरोना भाइरस र सलह किरा नियन्त्रणसँग सम्बन्धित विषयमा कांग्रेसका केही सांसदले पेश गरेको संकल्प प्रस्तावमा छलफल नै हुन पाएको थिएन । अहिलेको अवस्थामा सदनलाई अझै प्रभावकारी बनाउनुपर्छ भनेर लागिरहेका बेला एक्कासी अधिवेशन अन्त्य गरेकामा आश्चर्य लागेको खाँणले बताए ।

कसैसँग सल्लाह नगरी अधिवेशन अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ ।

खाँणले पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको टिप्पणी गरे ।

‘सरकारको आन्तरिक द्वन्द्व र दम्भले संसद अधिवेशन अन्त्य गर्नु गैरजिम्मेवारीपन हो । यो जायज होइन’, उनले भने, ‘अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोज्या जस्तो देखिन्छ ।’

कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि नेकपाको आन्तरिक कलहका कारण अधिवेशन अन्त्य गर्ने सिफारिस सरकारबाट भएको आफूलाई जानकारी आएको बताए ।

Loading
TOP