सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा

१९ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको छ ।

जारी प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार जे जे भयो यसले अब नेकपा विभाजन तर्फ नै अग्रसर भएको देखिएको छ ।

आफ्नै निवासमा जारी स्थायी कमिटी बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभन्दा फरक बाटो रोजेको विहिबारको क्रियाकलापले पुष्टि गरेको छ ।

बालुवाटारमा बिहीबार बसेको बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा भएको निष्कर्ष निकाल्दै शिर्ष नेताहरुबीच छलफल गर्न भन्दै बैठक शनिबार बस्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताउदै संकट जोगाउन यसबिचमा छलफल हुने बताए ।

उनले भने, ुपार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।ु

अहिलेसम्म के के भयो रु

विवाद पहिला देखि नै भएपनि पछिल्ला घटनाक्रमलाई हेर्दा असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा सात एजेन्डामा छलफल गर्ने तय भएको थियो । सोहि अनुसार असार १० गतेको बैठक सकियो र बैठक १२ र १३ गते बस्यो । दुई दिनको बैठकमा सीमाको समस्या र नक्सा प्रकरणमा छलफल भएकाले यी बैठकमा सरकारको आलोचना भएन ।

तर असार १० गतेको पहिलो दिनको बैठकमा दुवै अध्यक्षले एक अर्काप्रति आफ्ना असन्तुष्टि भने व्यक्त गरेका थिए । प्रचण्डले पालै पालो प्रधानमन्त्री बन्ने सम्झौताबाट पछि हटेर आफुलाई पछुतो लागेको आशयको अभिव्यक्ति दिए भने प्रधानमन्त्री ओलीले नेतृत्वलाई खुइल्याएर पार्टी र सरकार अगाडी बढ्न नसक्ने गुनासो गरे ।

शनिबारपछि अर्को बैठक मंगलबाट बस्यो । यसबीचमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद अभिव्यक्ति दिए । उनले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफ्नो सरकार ढाल्न भारतले सक्रिय बढाएको, काठमाडौँका होटलमा सरकार ढाल्न बैठक भइरहेको बताए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति पछि असार १६ गते मंगलबार बसेको बैठकमा बोल्दै प्रचण्डले दुई नयाँ एजेन्डा प्रवेश गराए । प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्ति बारे प्रधानमन्त्रीले बैठकलाई स्पष्ट गर्नुपर्ने र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको निवेदन दिएको विषयमा छलफल हुनुपर्ने गरी दुई नयाँ एजेन्डामा छलफल शुरु भयो ।

बैठकमा प्रचण्डले प्रधानमन्त्रीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवैबाट राजीनामा मागे । प्रचण्डसहित बोल्ने सबैले प्रधानमन्त्रीको राजीनामा मागे ।

बुधबार एक घण्टा मात्र बैठक बस्यो बैठक स्थगित भयो ।यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफ़ुपक्षका नेताहरुसँग बालुवाटारमा भेला गरेर छलफल गरेका थिए भने बुधबार साँझ प्रचण्डसहित बहुसंख्यक स्थायी समिति सदस्यले झम्सिखेलको एक रेष्टुरेन्टमा भेला गरेर प्रधानमन्त्री ओलीविरुद्ध एक भएको संदेश दिए । सो भेलामा रामबहादुर थापा, घनश्याम भुसालसहित पूर्व माओवादी तर्फका मन्त्रीहरुमा लेखराज भट्ट बाहेक सबै सहभागी भएका थिए ।

विहिबारको घटनाक्रम स्

बुधबार साँझको झम्सिखेल भेलापछि प्रधानमन्त्री ओलीले आफूविरुद्धको सन्देस प्रष्ट पाएपछि नयाँ रणनितितर्फ लागेका थिए । प्रधानमन्त्री ओली निकट नेताहरु सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरु प्रचण्ड निवास खुमालटार पुगेर पार्टी एकतामा संकट परेकोले भूमिका खेल्न अनुरोध गरेका थिए ।

त्यसको केहि समयपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगे । शीतल निवासमा करिब ४० मिनेटपछिको छलफलपछि बालुवाट फर्किएका प्रधानमन्त्री ओली आफ्नै निवासमा भएको स्थायी कमिटी बैठकमा नगएर मन्त्रिपरिषद बैठक गरे र सोहि बैठकबाट संसदको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरे ।

स्थायी कमिटीको बैठक शुरु हुन अलमल भैरहदा संसद स्थगितको खबर पाएका प्रचण्डले बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । विहिबार बिहान दुवै अध्यक्षबीच भएको टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफुले संसद अधिवेशन अन्त्य गर्न लागेको बताएपछि प्रचण्डले अहिले पार्टीको बैठक चलिरहेकाले यसबारेमा पार्टीमा छलफल गरेर निर्णय लिन आग्रह गरेका थिए । प्रचण्डले आज मन्त्रिपरिषद बैठक समेत नराख्न गरेको आग्रहलाई प्रधानमन्त्रीले हुन्छ भनेको प्रवक्ता श्रेष्ठ बताउछन । तर यो सहमतिको विपरित प्रधानमन्त्री ओली पार्टी बैठकमा गएनन् बरु मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य गर्न सिफारिश गरे ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि प्रचण्डसँगको छलफलमा यसले केहि फरक नपर्ने जवाफ दिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । ओलीसँगको छलफलपछि प्रचण्डले राष्ट्रपतिलाई भेटेका थिए । भेटमा प्रचण्डले अध्यादेश आउने चर्चा रहेको भन्दै पहिला पनि विवाद भएको बारे सचेत गराएको बताइएको छ । जवाफमा राष्ट्रपतिले अहिले अध्यादेश नआएको बताएकी थिइन् ।

राष्ट्रपतिलाई भेटेपछि बालुवाटार फर्केर प्रचण्डले स्थायी कमिटी बैठक सुचारु गराउदै प्रधानमन्त्री ओली बारम्बार अनुरोध गर्दा पनि बैठकमा आउन नमानेकोले थप छलफल गर्न भन्दै शनिबारसम्म बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए ।

अब के हुन्छ रु

प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको विषय विवादमा परेको छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरेर अधिवेशन सुरु गर्ने र अन्त्य गर्ने परम्परा विपरित प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेका छन् । सरकारको यो कदमप्रति प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको छ ।

अब राजनीतिक रुपमा देश अस्थिरतातर्फ जाने देखीएको छ । नेकपाका नेताहरुले सहमति गरेर सहज अवस्था नबनाए प्रधानमन्त्री ओलीले नेकपा भन्दा फरक बाटो रोजेको देखिन्छ । आफ्नै निवासमा भएको बैठकमा उपस्थित नभएर उनले यसको प्रष्ट संदेश दिएका छन् । उनले अब राजनीतिक दल फुटाउन सहज हुने यस अघि ल्याएको अध्यादेश फेरी ल्याउने चर्चा व्यापक रहेको छ ।

निर्वाचन आयोगमा पूर्व एमाले दर्ताको निवेदन दर्ता हुनु र नेकपामा प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्न इच्छा नदेखाउनुले केहि कुराको संकेत त पक्कै गरेको छ ।

प्रधानमन्त्री ओली र नेकपामा बबण्डर बहिरह्दा प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मौनतालाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । अहिले चर्चा भएअनुसार पत्याउने हो भने ओलीले देउवाको पूर्ण साथ हुने भरोसा पाएका कारण पनि यस्ता कदम चालेको बुझिन्छ । संसद अधिवेशन अन्त्य गर्न पनि देउवाको समर्थन रहेको दाबि ओली निकटहरुले गरिरहेको बाट पनि यो पुष्टि हुने आधार देखिन्छ ।

तर औपचारिक रुपमा यस बारेमा काँग्रेस पार्टीको धारणा फरक आएकाले पनि यी अड्कल र अनुमानका कुरा पनि हुनसक्ने देखिन्छ ।

प्रधानमन्त्री ओली र प्रचण्डसहितका नेताहरु आआफ्ना कदमबाट ब्याक नभएको अवस्थामा अब नेकपा फुटतर्फ अग्रसर भएको अनुमान विहिबारसम्मका घटनाक्रमबाट गर्न सकिन्छ ।

Loading
TOP