नेकपा दोस्रो पुस्ताका १० नेता विहानैदेखि छलफलमा

नेकपा दोस्रो पुस्ताका १० नेता विहानैदेखि छलफलमा

१९ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० विभाजनको संघारमा पुगेका बेला दोस्रो पुस्ताका युवा नेताहरु एकता जोगाउन छलफलमा जुटेका छन् । शुक्रवार विहान दुवै पक्षका युवा नेताहरुले छलफल गरेका छन् । पार्टी एकतालाई जोगाउन तत्काल युद्धविराम गर्न शीर्ष नेताहरुलाई आग्रह गर्ने सहमति गरेका छन् ।

दोस्रो पुस्ताका युवा नेताहरु पार्टी एकता जोगाउन लागेपनि शीर्ष नेताहरुबीच दुरी निकै बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भर्सेज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, र बामदेव गौतमबीच टकराव चरमचुलीमा पुगेको छ ।

पार्टी एकता धरापमा पर्न थालेपछि दोस्रो पुस्ताका नेताहरु छलफलमा जुटेका हुन् । शुक्रवार विहान सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा छलफलमा जुटेका छन् ।

छलफलमा ओली पक्षिय नेताहरुले तत्कालका लागि स्थायी कमिटी बैठक स्थगित गर्ने प्रस्ताव गरेका छन् भने प्रचण्ड माधव समुहका नेताहरुले पार्टी निर्णय ओलीले माने एकता नभत्किने दावी गरिरहेका छन् ।

स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गर्न ओली पक्षका नेताहरुले प्रस्ताव गरेपनि दाहाल नेपाल समुहले मानेका छैनन् । ओली समुहले सवै नेताबीच हार्दिकता बनाउन लाग्ने र हार्दिकता भएपछि बैठक बस्नुपर्ने तर्क गरेका छन् ।

Loading
TOP