प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शितल निवासमा

प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शितल निवासमा

२१ असार, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विभाजनको संघारमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका बताइएको छ ।

स्रोतका अनुसार तीन नेता आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्। प्रधानमन्त्रीलाई सम्झाउनका लागि पनि तीन नेताले राष्ट्रपतिमार्फत आग्रह गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए ।

त्यो बाहेक प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले हटाउन खोजेको र राष्ट्रपतिलाई पनि महाभियोग लगाउन खोजेको प्रमाण आफूसाग रहेको दलिल पेश गरेका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्ति आएपछि राष्ट्रपतिसँग वास्तविकता बुझ्न प्रचण्डलगायतका नेताहरु शीतल निवास गएका बुझिएको छ ।

Loading
TOP