ओली-प्रचण्ड बैठक सकियो : ठोस निर्णय भएन

ओली-प्रचण्ड बैठक सकियो : ठोस निर्णय भएन

२१ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवाद उत्कर्षमा पुगेका बेला आइतबार पनि भेटघाट र वार्ताका चरण शुरु भएका छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफल सकिएको छ ।

ओली र प्रचण्डले दोस्रो तहका आफु पक्षका नेतालाई सहभागी गराएर छलफल शुरु गरेका थिए ।

आजको छलफलमा ठोस सहमति नभएपनि सोमबारको बैठक अघि फेरी बसेर सहमतिको विन्दु खोज्ने सहमति भएको छ । आजको बैठकमा दुवै अध्यक्ष आआफ्नो अडानबाट पछि नहटेको तर थप असमझदारी बढाउने कदम नचाल्नेमा सहमत भएका छन् ।

दुवै अध्यक्षले पार्टी एकता बचाउनु पर्छ भन्नेमा सहमत भएको भएपनि अहिलेको संकटलाई कसरी समाधान गर्ने भन्ने बारेमा सहमतिको विन्दु खोजेर अगाडी बढ्ने समझदारी बनेको बताइएको छ ।

यसका लागि अनौपचारिक रुपमा आजको बैठकमा सहभागी भएका विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र बर्षामान पुनलाई जिम्मा दिइएको बताइएको छ ।

यी नेताहरुले बनाएको सहमतिको नयाँ फर्मुलामा दुवै अध्यक्षबीच सोमबार विहान छलफल हुने भएको छ ।

यसअघि शुक्रबार भएको दुई अध्यक्षको छलफलमा पनि विष्णु पौडेल र जनार्दन शर्मा उपस्थिति थिए भने आजको छलफलमा इश्वर पोखरेल, शंकर पोखरेल र वर्षमान पुन थपिएका थिए ।

यसअघि आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेकपाका शिर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेता शीतल निवास पुगेका थिए ।

शीतल निवासमा राष्ट्रपतिसँग बाहिर आएको जस्तो राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी नभएको भन्ने बारे स्पष्ट गर्ने नेकपा नेताहरु गएको बुझिएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा संकट उत्पन्न भएको, आफु र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको भन्दै मन्त्रीहरुलाई कुन पक्षमा रहने हो आफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएसँगै नेकपा भित्र तरंग सिर्जना भएको थियो ।

यसअघि शनिबारका लागि तय भएको स्थायी कमिटीको बैठक समेत ठोस सहमति र छलफल हुन नसकेपछि सोमबारका लागि सारिएको छ ।

Loading
TOP