ओली-प्रचण्डको वान टु वान वार्ता आजपनि, नेपाल समुह असन्तुष्ट

ओली-प्रचण्डको वान टु वान वार्ता आजपनि, नेपाल समुह असन्तुष्ट

२३ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका गर्ने पहल जारी रहेका बेला आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

यसअघि सोमबार भएको छलफल सकारात्मक भएको भनिएकोमा त्यसको निरन्तरताका लागि आज फेरी छलफल हुनलागेको हो ।

अहिलेसम्म दुवै अध्यक्ष छलफल गर्ने तह मात्र सहमत भएको तर ठोस एजेन्डामाथि सहमति नबनेको नेकपा नेताहरुले बताएका छन् ।

आइतबारको छलफलमा बनेको अनौपचारिक कार्यदलले सहमतिको विन्दु खोज्ने तयारी गरिरहेको भएपनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफुहरुलाई यो प्रक्रियामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

वरिष्ठ नेता नेपालले सोमबार ओली(प्रचण्ड भेटवार्तापछि प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टि राखेको बताइएको छ ।

नेता नेपालले दुई अध्यक्ष मात्र बसेर समस्याको समाधान नहुने बताउदै पर्तियो विवाद मिलाउने प्रक्रियामा आफ्नो पक्षको सहभागिताको विषय उठाएका थिए ।

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएकाले सो भन्दा अगाडी सम्म दुवै अध्यक्षबीच सहमति बनाउने प्रयास भइरहेको बताइएको छ ।

नेकपाका दोस्रो तहका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले सहमति बारे गृहकार्य गरिरहेको बताइएपनि सोमबारको बैठकमा दुवै अध्यक्षबीच वान टु वान नै वार्ता गर्ने सहमति भएकाले अब कसरी सहमतिको बिन्दु खोजिन्छ भन्ने अन्योल कायमै रहेको छ ।

आज ओली(प्रचण्डबीचको छलफलको समय तोकिएको छैन भने आजै ४ बजेका लागि क्याबिनेट बैठक रहेकाले सो भन्दा अगाडी दुवै अध्यक्ष बस्न सक्ने बालुवाटार स्रोतले बताएको छ ।

Loading
TOP