राजनीतिक गतिविधि र अन्य विवादले पार्टी एकता कमजोर नहोस्- प्रचण्ड

राजनीतिक गतिविधि र अन्य विवादले पार्टी एकता कमजोर नहोस्- प्रचण्ड

२८ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक बाढीपहिराको उच्च जोखिममा रहेको अवस्थामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर हुन नहुने बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आईतबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम नठहरीने बबताए । साथै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन”, उनले भने ।

अध्यक्ष प्रचण्डले पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै भने, “ यसमा पनि तपार्इंहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उहाँले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए । अध्यक्ष प्रचण्डले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।

वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकास निर्माणको काम गर्नुपर्नेमा उनको जोड थियो ।अध्यक्ष प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला पुगेका हुन् ।

Loading
TOP