न ओली गले, न प्रचण्ड, सहमतिको सूत्र भेटाएनन् महासचिवले

न ओली गले, न प्रचण्ड, सहमतिको सूत्र भेटाएनन् महासचिवले

२ साउन, काठमाडौं । २६ असारमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग चार घण्टा छलफल गरेका नेकपा महासचिव बिष्णु पौडेलले २७ असार दिउँसो स्थायी कमिटी सदस्य भीम रावलसँग तीन घण्टा गोप्य छलफल गरे । नेकपा नेता सोमनाथ पाण्डेको घरमा वरिष्ठ नेता नेपालसँग सम्वाद गरेका महासचिव पौडेलले रावलसँग सिंहदरवारमा छलफल गरेका थिए ।

नेपाल र रावलसँग छलफल गर्नुभन्दा पहिले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग महासचिव पौडेलले लामो सम्वाद गरेका थिए । पछिल्ला तीन दिनयता उनले वरिष्ठ नेता नेपाल समुहका स्थायी कमिटी सदस्यहरुसँग दैनिक सम्वाद गरिरहेका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग पनि उनले दुई घण्टा छलफल गरेका थिए ।

प्रचण्डका विश्वास पात्र जनार्दन शर्मासँग महासचिव पौडेल निरन्तर सम्वादमा छन् । प्रधानमन्त्री निवास बालुवाटारदेखि घरसम्म पौडेल र शर्माबीच छलफल भइरहेको छ । तरपनि नेकपाको निकास निस्किन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विस्वास पात्र हुन् महासचिव पौडेल । नेकपाभित्रको विवाद मिलाउन उनी सधै सफल भएका थिए । तर यसपटक उनीको पनि दाल गलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्वाद गर्न नचाहेपछि ओली थप संकटमा फस्दै गएका थिए । ओली संकटमा फसेको देखेरै महासचिव पौडेलले नेपाल र उनी निकट नेताहरुसँग निरन्तर सम्वाद गरेका थिए । तरपनि परिणाम निकाल्न सकेनन् ।

महासचिव पौडेल प्रधानमन्त्रीको अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सहमत गराउन लागि परेका थिए । तर ओलीबाट बारम्वार धोका पाएका प्रचण्ड र नेपालले यसपटक निर्णायक लडाईको तयारीमा थिए । ओलीलाई केही गलाउने र प्रचण्ड नेपाललाई मिलाउने सूत्र महासचिव पौडेलले पाउन सकेनन् ।

१७ असारयता नेकपा शीर्ष नेताबीच ८ पटक सम्वाद भयो । तर परिणाम भने सून्य नै रह्यो । दोस्रो पुस्ताका नेताहरुबीच पनि दर्जनौ छलफल भए तरपनि निकास निस्किन सकेन । विवाद जहाँको त्यही छ तर शुक्रवार स्थायी कमिटीको बैठक भने बोलाउने सहमति भएको छ ।

Loading
TOP