नेकपाको विवाद थप अन्योलमा

नेकपाको विवाद थप अन्योलमा

५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार पनि छलफल भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा भन्दा बढी भएको छलफल पनि बिना निष्कर्ष सकिएको छ ।

शनिबार सहमति भएको भनिएका विषयमा आइतबार प्रचण्डले सहमति नभएको बताएपछि नेकपाको विवाद पहिला कै अवस्थामा आएको थियो ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको मङ्सिरमा महाधिवेशन गर्ने प्रस्तावको विरोध नगरेका प्रचण्डसँग वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट बनेपछि प्रचण्डले आइतबार कुनै सहमति नभएको स्पष्टिकरण दिएका थिए ।

नेकपा नेताहरुले आइतबारको दुई अध्यक्षको बैठक पनि बिना निष्कर्ष सकिएको बताएका छन् । बैठकमा दुवै अध्यक्ष आआफ्ना पुराना अडानमा कायमै रहेको बताइएको छ ।

पार्टीभित्रका विवादको कारणको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक आजसम्म आइपुग्दा ७ पटक स्थगित भएर साउन ६ गतेको लागि बैठक बोलाइएको छ ।

पटक पटकका छलफल र वार्ता निष्कर्षविहिन हुने र मिडियालाई एक पक्षले एक थरी र अर्को पक्षले अर्को थरी समाचार दिदा नेकपाको विवाद झन् अन्योल र भद्रगोल अवस्थामा पुगेको विश्लेषण हुन थालेको छ ।

शनिबार कै बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनमतको कदर गर्दै सहमतिमा अगाडी बढ्ने निष्कर्ष निकालिएको जानकारी दिदै छलफल जारी रहेको बताएका थिए । तर केहि बेरमै प्रधानमन्त्री निकट नेताहरुले महाधिवेशनका लागि सहमति भएको मिडियालाई आआफ्नै किसिमले जानकारी दिदै गए र मिडियामा पनि सोहि किसिमको समाचार सम्प्रेषण भयो ।

मिडियामा सहमति भएको विषयले प्राथमिकता पाएको देखेपछि प्रचण्डको सचिवालयले राति नै त्यसको खण्डन गर्यो र कुनै सहमति नभएको स्पष्ट गर्दै छलफल जारी रहेको बताएको थियो ।

Loading
TOP