वीरगंजमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ४३ पुग्यो

वीरगंजमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ४३ पुग्यो

८ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा–६ माईस्थान बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए । एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार ती पुरुषलाई नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. सिंहले बताए । ‘कोरोनाको लक्षण रहेकाले उनको शव परिवारको जिम्मा लगाएका थिएनौँ,’ उनले भने, ‘बुधबार ती मृत व्यक्तिमा पनि कोरोना रहेको रिपोर्ट आएको छ ।’

यसैबीच, नारायणी अस्पतालको ल्याबबाट बुधवार राति सार्वजनिक भएको रिपोर्ट अनुसार ती वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ।

ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकका अनुसार १ सय २८ वटा नमुना जाँचबाट ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये वीरगंज नारायणी अस्पतालमै कार्यरत ४० वर्षीय चिकित्सक र दुई वर्ष पहिले अवकाश पाइसकेका र हाल निजी अस्पतालमा उपचार सेवा दिइरहेका ६२ वर्षिय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Loading
TOP