मृत भेटिएका सशस्त्र जवानको हत्या भएको खुलासा

मृत भेटिएका सशस्त्र जवानको हत्या भएको खुलासा

८ साउन, सिराहा । सिराहामा एक साताअघि मृत फेला परेका एक सशस्त्र प्रहरी जवानको हत्या भएको खुलेको छ। बिओपी मार्डर सिराहामा कार्यरत प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यादवको हत्यामा संलग्न भएको भन्दै ३ जनालाई पक्राउ गरेको छ। अरु दुइ जना भने फरार छन्।

सिराहा नगरपालिका ३ मखनाहाका २५ वर्षीय जवकेशकुमार यादव, २० वर्षीय दिपेशकुमार यादव र २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरिएको डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

असार १६ गते यादवको खिरौनास्थित नहरमा शव फेला परेको थियो। महोत्तरी सोनमा गाउँपालिका ३ घर भएका यादव आफन्तको विवाहमा गएका बेला हत्या भएको सिंहले बताए।

प्रहरी स्रोतका अनुसार यादवको मखनाहकी एक युवतीसँग प्रेम सम्वन्ध थियो। त्यसैमा विवाद हुँदा स्थानीय युवाहरुले उनको हत्या गरेका हुन्। आफूहरुले यादवलाई लखेटी लखेटी नहरमा लगेर डुबाएर हत्या गरेको आरोपीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ।

Loading
TOP