नेता झलनाथ खनाल साक्षी राखेर ओली-प्रचण्डले तीन घण्टा गरेको छलफल निष्कर्षविहिन

नेता झलनाथ खनाल साक्षी राखेर ओली-प्रचण्डले तीन घण्टा गरेको छलफल निष्कर्षविहिन

१८ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार छलफल भएको छ । आजको छलफलमा अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट वरिष्ठ नेता झलनाथ खनाललाई राखेका थिए भने प्रधानमन्त्री ओलीको तर्फबाट सुबास नेम्वाङ सहभागी भएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा भएको छलफलमा खासै नयाँ निकास भने ननिस्किएको बताइएको छ । आजको छलफलमा पनि दुवै अध्यक्षले आआफ्ना पुरानै अडान दोहोराएको र छलफलमा प्रगति नभएको नेकपाका एक नेताले खरीबोटलाई बताए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन छिट्टै गरेर नेतृत्व लिन प्रचण्डलाई आग्रह गरेको र प्रचण्डले तुरुन्तै महाधिवेशनमा जान सम्भव नभएको बताएको नेकपा स्रोतले बताएको छ ।

यस अघि भइरहेका वान टु वान वार्ता गरेका प्रचण्डले अब वान टु वान वार्ता गर्न भने अश्विकार गरेको बुझिएको छ । सोहि अनुसार नै दुवै अध्यक्षका तर्फबाट एक एक जना साक्षी राखिएको बताइएको छ ।

पछिल्लो पटक भएको वान टु वान छलफलपछि प्रचण्ड आफ्नो पक्षमा नै विवादित हुनेगरी प्रचार भएपछि अब साक्षी राखेर मात्र प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएपछि आजको बैठकमा खनाल र नेम्वाङ बसेका हुन् ।

छलफल सोमबार पनि बस्ने बताइए पनि नेकपाको अहिलेको विवादको समाधान बारेको मोडल अहिलेसम्म बन्न सकेको छैन ।

यस अघि गत मंगलबार प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा जारी स्थायी कमिटीको बैठक स्थगित गरेपछि नेकपाको विवादले नयाँ मोड लिएको थियो । प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले बहुमत सदस्य सहित स्थायी कमिटी बैठक गरेर प्रधानमन्त्रीको बैठक स्थगित गर्ने कदम गलत भएको निष्कर्ष निकालेको थियो । साथै सो बैठकले प्रधानमन्त्री ओलीसँग छलफल गरेर बैठकको अर्को मिति तोक्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

गत मंगलबारपछि ओली र प्रचण्डबीच कुनै छलफल भएको भने थिएन । यसबीच महासचिव विष्णु पौडेलले भने पटक पटक प्रचण्डसँग भेटेर छलफलको वातावारण बनाए अनुसार नै आजको छलफल शुरु भएको नेकपा स्रोतले बताएको छ । यस बिचमा प्रदेश ५ क मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुले पनि प्रचण्डलाई भेटेर छलफल गरेका थिए ।

साथै प्रचण्डले महासचिव पौडेलसँगको भेटमा छलफलको वातावारण बनाउन र पार्टी एकता जोगाउने तर्फ सचेत रहन प्रधानमन्त्री ओलीलाई संदेश पठाएको बताइएको छ ।

अहिले नेकपाको बैठक अनिश्चितकालका लागि स्थगित रहेकाले कहिले बस्ने भन्ने अन्योल नै रहेको छ । त्यस्तै ४४४ केन्द्रीय सदस्य रहेको नेकपाका १५२ सदस्यले हस्ताक्षर गरेर गत बुधबार केन्द्रीय कार्यलयमा केन्द्रीय समितिको बैठकको समेत माग गरेका छन् ।

Loading
TOP