प्रधानमन्त्री विज्ञसँगको छलफलमा, विपक्षी नेता देउवा र ठाकुर पनि सहभागी

प्रधानमन्त्री विज्ञसँगको छलफलमा, विपक्षी नेता देउवा र ठाकुर पनि सहभागी

२० साउन, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ ।

संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

छलफलका लागि ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई बोलाएका छन्। यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूसँग छलफल गरेका थिए।

स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।गत साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दै गइरहेका ठाउँमा स्थानीय तहले कहीँ निषेधाज्ञा गरेको छ भने कहीँ लकडाउन गरेको छ।

Loading
TOP