बुधबार कोरोनाबाट नेपालमा ६ जनाको मृत्यु
२२ साउन, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा बुधबार मात्र ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा र मोरङमा दुई–दुई जना रहेका छन् भने काठमाडौं र सप्तरीमा एक एक जना रहेका छन् ।
वीरगन्ज कोरोना अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको हो । श्रावण १८ गते कोरोना परीक्षण गराएका उनलाई संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि २० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएको र उपचारको क्रममा २१ गते विहान मृत्यु भएको थियो ।
पर्सा पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा मृत्यु पछि कोरोना पुष्टि भएको हो । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको भएपनि अस्पताल पुर्याउना साथ डाक्टरले मृत्यु भएको बताएका थिए ।
मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ ।
त्यस्तै बुधबार मोरङमा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि भएको छ ।
कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १० स् ३० बजे मृत्यु भएको थियो ।
कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।
यस्तै बुधबार काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोरोना संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालमा उपचारका क्रममा स्व़ाब परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई बलम्बु लागिएको थियो ।
यस्तै सप्तरीमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।
थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान जाने क्रममा उनको बाटोमै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
यसरी बुधबार नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा २ जनाको मृत्यु पुष्टि गरेको छ भने बाँकी चार जनाको पुष्टि गर्न बाँकी छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।