प्रधानमन्त्रीलाई देउवाको प्रश्न, लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा किन सुनेन सरकारले ?

प्रधानमन्त्रीलाई देउवाको प्रश्न, लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा किन सुनेन सरकारले ?

१ भदौ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा भएको छलफलमा संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसँगको भेटमा लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर देउवाले प्रश्न गरेका थिए ।

देउवाको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन रु’ देउवाले मुलुकका विभिन्न भागमा पनि बाढी पहिरोले क्षति पुर्याए पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित र प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाएका छन् । आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पुर्‍याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएका समस्या समाधानका लागि तत्काल संवाद थाल्न पनि देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसमेत सहभागी थिए ।

देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका तीन बुंदा स्

१। सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन रु देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२।कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन रु आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ रु

३।त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

Loading
TOP