कोरोनाको भ्याक्सिनबारे सकारात्मक सन्देश : चीनले दियो पेटेन्ट अधिकार

कोरोनाको भ्याक्सिनबारे सकारात्मक सन्देश : चीनले दियो पेटेन्ट अधिकार

१ भदौ, काठमाडौँ । चीनले कोरोनाको पहिलो भ्याक्सिनको पेटेन्ट अधिकारको अनुमति दिएको छ ।

केनसाइनो बायोल्जिक्स कर्पोरेशनले बनाउन लागेको कोरोना भ्याक्सिन एडी५-एनकोभ (AD5-nCov) को पेटेन्ट अधिकारको अनुमति चिनियाँ सरकारले दिएको ग्लोबल टाइम्सले जानकारी दिएको छ ।

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले अगस्त ११ मा केनसाइनोको भ्याक्सिनको पेटेन्ट अनुमति दिएको बताइएको छ । चीनमा कोरोनाको भ्याक्सिनका लागि पेटेन्ट अधिकार अनुमति दिइएको यो पहिलो भ्याक्सिन हो ।

पेटेन्ट अधिकार पाउनुको अर्थ भ्याक्सिन पाउनु नभई व्यावसायिक सफलताको रुपमा लिने गरिन्छ ।

पेटेन्ट अधिकार लिएपछि अब यस भ्याक्सिनको नक्कल कसैले गरेमा कानुनी कारवाही गर्न सजिलो हुने हुन्छ । तर क्लिनिकल ट्रायल र अन्य परिक्षणसँग भने यसको कुनै सरोकार हुदैन ।

यस भ्याक्सिनलाई बेलायतको अक्सोर्ड युनिभर्सिटीले बनाइरहेको भ्याक्सिनसँग समान रहेको समेत चर्चा भइरहेको बेला चीनले पेटेन्ट अधिकारको अनुमति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केहि दिनअघि साउदी अरबमा समेत केनसाइनोले बनाउदै गरेको भ्याक्सिनको तेस्रो चरणको ट्रायल हुने कुरा बताइएको थियो ।

केनसाइनोले तेस्रो चरणको ट्रायलका लागि ब्राजिल, रुस र चिलीसँग कुरा गरिरहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्याक्सिनले पेटेन्ट अधिकारको अनुमति पाएपछि भने केनसाइनोको हङकङ सेयर बजारमा १४ प्रतिशतसम्म सेयर बढेको खबर छ । कारोबारको अन्त्यमा ६.६ प्रतिशत बढेर रोकिएको मिडिया रिपोर्टमा बताइएको छ ।

Loading
TOP