अबदेखि ११ कक्षा पास नभएसम्म १२ पढ्न पाइने

अबदेखि ११ कक्षा पास नभएसम्म १२ पढ्न पाइने

३ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो संक्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल प्रकाशित गरेपछि ११ कक्षामा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ ।

तर भर्नाको निधो भने भदौ १५ गतेपछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै संक्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘भर्नाको निधो भने भदौ १५ गतेपछि मात्र हुुने छ ।’

सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ । विगतका वर्षमा ११ कक्षाको शैक्षिक सत्र साउन १५ गतेबाट मात्रै शुरू हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झण्डै ५ लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ ।

साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ ।

गौतमले ११ कक्षाका विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बताए । भाइरसको जोखिमका कारण अब २–३ महिना ढिला नै कक्षा शुरू भए पनि ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई कुनै समस्या नहुने उनको भनाइ छ । १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने ११ कक्षाका विद्यार्थीको हकमा समस्या नहुने जानकारी दिए ।

यस पटक ११ कक्षामा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ ।

सरकारले ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ । कोरोना भाइरसका कारण भदौ १५ गतेसम्म भर्ना लगायतका सबै प्रक्रिया रोकिएकाले त्यसपछि मात्रै सरकारले निर्णय गर्ने जानकारी निर्देशक गौतमले दिए । बढ्दो संक्रमणका कारण विद्यार्थीको भर्ना कहिले शुरू हुन्छ भन्ने यकिन गर्न नसकिए पनि केही महिना चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तत्काल विद्यार्थी भर्ना नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न समेत विद्यालयलाई खुला गर्न नसकिने सरकारले स्पष्ट गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी २–३ हप्तासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बताए ।

यस पटकबाट ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीले अब १२ कक्षामा जानुअघि नै ११ कक्षाउत्तीर्ण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई ११ कक्षा उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै १२ कक्षामा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading
TOP