पर्सामा थप १०८ जनामा कोरोना पुष्टि

पर्सामा थप १०८ जनामा कोरोना पुष्टि

३ भदौ, वीरगन्ज । पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढेर १५ सय नाघेको छ । मंगलबार पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको राती अबेर आएको रिर्पोट अनुसार नयाँ १ सय ८ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या १५ सय ८२ पुगेको हो ।

जिल्लामा रहेका संक्रमितहरुमा वीरगञ्जमा बस्ने २० जना भारतीय नागरिक , १०२ जना बिभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी , ४६ जना बिभिन्न अस्पतालका बिभिन्न बिभागका कर्मचारी ,७३ जना बिभिन्न सुरक्षा निकायमा सुरक्षाकर्मी , ६ जना बिभिन्न सञ्चारमाध्यमका पत्रकार र ८९ जना कैदी बन्दी तथा थुनुवा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार नारायणी अस्पतालको प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएका १०८ संक्रमितहरुमा सर्वाधिक पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका ९० जना रहेका छन् ।

मेयरसहित १५ जनामा संक्रमण देखिएपछि उनीहरुको कन्टयाक्ट ट्रेसिंगका आधारमा साउन ३१ गते बैरिया बिर्ता र भौराटारमा संकलन गरिएको स्वाबको नमूनालाई पिसिआर परीक्षण गर्दा तीमध्ये ९० जना संक्रमण पुष्टि भएको हो । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारका मात्र ६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी नगरपालिकाको वडा नम्बर २ बैरियाविर्ता पिप्राका २० जना , वडा नम्बर ३ नगरदाहाका ३ जना र त्यहिकै स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित ४ जना र गम्हरियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका थप ६ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राती उक्त अस्पतालमा ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

पर्साकै जीराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का चार जना , छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । वीरगन्जमा रहेकोे भारतीय महावाणिज्य दुतावासका १४४ बर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी अन्य थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका २ जना, वडा नम्बर ५, १० , १२ र २५ का १(१ जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार भदौ २ गते साँझसम्म ३ सय २३ जना संक्रमितहरु उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

त्यस्तै मंगलबार गरिएको पिसिआर परिक्षणमा बारा जिल्लामा रहेको श्री चण्डी गणका चार नेपाली सेना तथा जिल्लाका विभिन्न स्थानका अन्य चार जना गरी आठ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका एक जना युवकमा पनि संक्रमण पुष्टि भएको छ ।

Loading
TOP