धादिङको पहिरो जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीको आग्रह

धादिङको पहिरो जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीको आग्रह

५ भदौ, धादिङ । लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् । पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन समितिले वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग माग गरेको हो । समितिको यही भदौ २ गतेको निर्णयले बस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।

रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा ४ हिन्दुङ, वडा ५ कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६ तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न माग गरिएको हो । बस्ती स्थानान्तरणको सिफारिस पछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीन ओटा टोलबासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानन्तरणको माग गरेका छन् ।

रुबीभ्याली ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरुले आफूहरु स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन् । बस्तीहरुमाथीबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्यआइरहेको गाउँबासीको भनाइ छ । सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचिमा रहेको छ ।

Loading
TOP