कार्यदलको प्रतिवेदनमा छलफल गर्न ओली–प्रचण्ड भेट्दै

कार्यदलको प्रतिवेदनमा छलफल गर्न ओली–प्रचण्ड भेट्दै

८ भदौ, काठमाडौं । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले बनाएको प्रतिवेदनमा छलफल गर्न ओली–प्रचण्ड भेटघाट हुदै छ । सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) द्वारा गठित ६ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली प्रचण्डले सोमबार बालुवाटारमा छलफल गर्ने कार्यक्रम छ । ।

छलफलमा कार्यदलको प्रतिवेदनले दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षवीच छलफल हुने छ ।

कार्यदलले निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्न सिफरिस गरेको छ भने सचिवालयको बैठक तत्काल बस्न सकिने सुझाव दिएको छ ।

आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न सुझाइएको छ । महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलले दिएको अर्को सुझाव के हो भने पार्टी एकताको स्पिरिट अनुसार आगामी महाधिवेशन बहुमतीय आधारमा नभएर सहमतिमा आधारमा गर्नुपर्नेछ । यसको अर्थ महाधिवेशनपछिको नेतृत्व निर्वाचनका आधारमा नभएर ‘भागवण्डा’का आधारमा हुनेछ ।

नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओली गुटबाट महासचिव पौडेल र शंकर पोखरेल सदस्य थिए भने प्रचण्ड गुटबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । त्यस्तै माधव नेपाल गुटबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।

Loading
TOP