लकडाउन डायरी

लकडाउन डायरी

१ असोज, काठमाडौं । समय आफनै गतिमा अगाडि बढ्ने रहेछ । समयलाई कसैले पनि आफ्नो अधीनमा राख्न सक्दोरहेनछ । मानिस आफू बस्दै गरेको टोल, समाज र राष्ट्र हुँदै विश्वमा नै आफ्नो आधिपत्य स्थापित गर्न वायुसरी दौडिरहेको धावन मार्गमा आज अकस्मात समयसँग घुँडा टेक्नुपरेको वास्तविकता हामी सबैको सामु जगजाहेर नै छ । भनिन्छ, समय र छालले कसैलाई पनि पर्खदैन । त्यस्तै अनुभूतिको आभाष आज हामी सबैलाई भइरहेको छ ।

समयको परिवर्तनसँगै “लकडाउन”भन्ने शब्दको पनि व्यापक प्रयोग भएको छ । प्रकृतिमा हरेक वस्तुको आगमन र अन्त्य हुनमा पनि समय नै जिम्मेवार हुने रहेछ । आज विश्व समुदायले नै भोग्न वाध्य हुनुपरेको विषम परिस्थिति पनि समयको प्रतिफल हो जस्तो लाग्दछ मलाई ।

विगतका केही महिनादेखि नेपाल लगायत समग्र विश्व समुदाय नै कोरोना भाइरस जस्तो डरलाग्दो महामारीको कारणले लकडाउन वा बन्दाबन्दीको अवस्थामा छन् । सम्पूर्ण जगत नै आज यसैको कारणले प्रताडीत छ । स्थिति दिनप्रतिदिन थप भयावह बन्दै पनि गइरहेको छ । देशका विभिन्न भू–भागमा दिन प्रतिदिन कडा निषेधाज्ञा जारी गरिएको छ । लकडाउनको समयावधि क्रमशःथप गरिदै गइरहेको अवस्था छ ।ठूलो संख्यामा धनजनको क्षति भएको छ । यातायात, उद्योग, व्यापार, व्यवसाय, स्कुल, कलेज र अन्यथुप्रै सेवाप्रदायक संस्थाहरु बन्दाबन्दीको अवस्थामा छन् । देशको अर्थतन्त्र धराशायी बन्दै गइरहेको छ । नागरिकहरु निश्चित सीमाभित्रको दायरामा कैदी जस्तै असहज जीवन जिउँन बाध्य भएका छन् । अबका दिनमा पनि महामारीले कस्तो रुप लिने हो र अझै सम्म पनि यसरी कतिन्जेल बस्नुपर्ने हो, आँकलन गर्न सकिने अवस्था भने छैन ।

भिन्न परिस्थितिमा हरेक व्यक्तिको भूमिका पनि भिन्न खालको हुने रहेछ । एउटै व्यक्तिले पनि विविध भूमिकाहरु निर्वाह गर्नुपर्दो रहेछ । महामारीले निम्त्याएको बन्दाबन्दीको समयलाई हामी सबैले परिणाममुखी क्रियाकलापमा सदुपयोग गर्नुपर्छ । यसलाई एउटा भयावह स्थितिको रुपमा मात्र नलिएर अवसरको रुपमा लिदै स्वःविकास र विकास निर्माणका गतिविधिहरुमा सामेल हुनुपर्ने देखिन्छ । महामारीद्धारा सिर्जित अवस्थाको अनुमान नै गर्न नसकिएको अहिलेको अवस्थामा विविध आर्थिक उपार्जनका कार्यहरुमा सरिक हुनु नै अझ बढी बुद्धिमानी हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी र लकडाउनको सुरुवात सँगै केही समय समग्र विश्व नै स्तब्ध भएको अवस्था हाम्रो सामु छर्लङ्ग नै छ । क्रमिक रुपमा महामारीले उग्र रुप लिदैँ गर्दा लकडाउन वा निषेधाज्ञा पटक–पटक थप्नु परेको बाध्यात्मक परिस्थितिको अनुभव पनि हामी सबैको मानसपटलमा जीवितै छ ।

म आफै पनि शिक्षक भएको नाताले दिनहुँजसो विद्यालय जान नपरे पनि महामारीको अवस्थालाई मध्यनजर गर्दै विद्यालय संचालन गरिएका दिनहरुमा विद्यालय जाने, विद्यार्थी भर्ना गर्ने, विद्यार्थीलाई पुस्तक वितरण गर्नेदेखि लिएर विद्यार्थीहरुलाई फुर्सदिलो समयमा पनि व्यस्त राख्नुपर्छ भन्ने विद्यालय प्रशासनको योजना अनुसार पठ्नपाठनमा तल्लिन राख्ने उद्देश्यका साथ गृहकार्य दिने, आगामी शैक्षिक सत्रको लागि वर्षभरिको योजना बनाउने र विद्यार्थीहरुलाई महामारीमा आत्तिनु हुँदैन तर पनि सजग भने हुनुपर्दछ, साबुन पानीले बारम्बार हात धोइरहनुपर्दछ, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ, भिडभाड गर्नुहुँदैन र भिडभाड भएको ठाउँमा जानु पनि हुँदैन भन्ने जस्ता चेतनामुलक कार्यहरुमा सरिक हुँदै आएको छु ।

महामारीद्धारा सिर्जित फुर्सदिलो समयलाई घरपरिवारमा समेत सदुपयोग गर्ने अवसर मिलेको छ । करेसावारीमा काम गर्ने, तरकारी केलाउने र भान्सामा आमालाई सघाउने, गोठमा भएमा वस्तु–भाउहरुलाई घाँस पराल दिने जस्ता कार्यहरुमा सहभागिता बढ्न थालेको छ । यस्ता कार्यको फल स्वरुप अचेल वस्तुभाउले पनि चिन्न थालेका छन् । सुम्सुम्याउन थालेका छन । देख्ने वित्तिकै कराउन थालेका छन् । उनीहरुसँग पनि एक खालको मित्रता फस्टाएको छ । यति मात्र कहाँ हो र लामो समयदेखि विद्यालय जाने अवसरबाट वञ्चित भएका छोराहरु केशर,शंकर र छोरी त्रिज्ञानीलाई पठनपाठनमा सघाउने, उनीहरुसँगै खेल्ने, जिस्किने, रमाइलो गर्ने, माया ममता आदान प्रदान गर्ने जस्ता कार्यमा सक्रियता बढेको छ । बच्चाहरुसँग बेलुका सँगै विस्तारमा जाने र विहान सँगै उठ्दा हुने अनुभूतिको चरम आनन्द प्राप्त भएको छ ।

नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश व्यत्तिहरु कृषि पेसामा आवद्ध छन् । पेसाले शिक्षक भएपनि लकडाउनको केही समय कृषि कार्यमा प्रयोग गर्न सम्भव बनाएको छ महामारीले । चैत्रको अत्याधिक घाममा गहुँ थन्कयाउँदादेखि सुरु भएको महामारीसँगै खेतमा मकै छर्ने, खन्ने, गोड्ने, थन्क्याउने र रोपाईँ गर्नेदेखि लिएर धान गोड्ने समय हुँदै गर्दासम्म स्थिति सामान्य हुन सकेको छैन । यस्ता खालका कृषिजन्य क्रियाकलापमा संलग्नता बढाउँदै परिवारमा केही हदसम्म भएपनि कामको बोझ खुकुलो पार्न मद्धत मिलेको छ । माथिका विषय उठान गर्नुको आशय लकडाउन भइराख्नुपर्छ भन्न खोजेको भने पटक्कै होइन् । केवल कुहिरो भित्र पनि अनगिन्ती बाटाहरु छन्, गर्नुपर्ने कामहरु धेरै रहेछन् भनेर मात्र भन्न खोजिएको हो । यो त केवल लकडाउनको समयको सदुपयोगको एक वृत्तान्त मात्र हो ।

मानिस सामाजिक प्राणी हो । समाज र मानिस एक अर्काका परिपूरक हुन् । कुनै एकको अभावमा अर्काको अस्तित्व सम्भव छैन । त्यसैले हामी सबैले समाजको विकासको निमित्त पनि केही समय खर्चिनुपर्ने हुन्छ । यही सत्यलाई ह्दयङ्गम गर्दै लकडाउनको सुरुवात सँगै गाउँमा अन्नबालीको संरक्षण गर्ने उद्देश्यका साथ बाँदर लगायतका जंगली जनावर धपाउन सहयोग पुग्नेछ भनने हेतुले कैयौँ वर्षदेखिका काम नलाग्ने रुखहरु काटिएको छ । त्यसले केही मात्रामा भए पनि जंगली जनावरको आतंङ्कको समस्यालाई न्यूनीकरण गरेको छ । निर्वाध रुपमा हिड्डुल गर्न सकिने अवस्थाको सिर्जना भएको छ । परिस्थिति पहिलेको भन्दा केही भिन्न खालको भएको अनुभूति भएको छ । त्यसैगरी, सिंचाइँको लागि पक्की कुलो र कलपट निर्माण यसै समयावधिभित्र सम्पन्न भइसकेको छ । गाउँकै केन्द्र मानिने पसलचोक देखि मन्दिरसम्मको बाटो जुन गाउँका अधिकाधिक व्यक्तिहरुले प्रयोग गर्दछन् हिंड्डुल गर्दछन्,उक्त भित्री बाटो हाललाई ३ मिटर कायम गर्ने गरी स्थानीय निकायको सहयोगमा, सम्पूर्ण जग्गाधनीहरुको सहमतिमा र गाउँमा बसोवास गर्ने सम्पूर्ण व्यक्तिहरुको सक्रियतामा निर्माण गर्ने कार्यको थालनी भइसकेको छ । आशा छ, छिट्टै नै उक्त भित्री बाटो निर्माण गर्ने कार्यले पूर्णता पाउनेछ । समयको विकास सँगै गाउँका सबै भेगमा बसोवास गर्ने व्यक्तिहरुले निर्विकल्प निकास पाउनुपर्दछ । विकासका प्रतिफल सबैको घरदैलोमा पु¥याउनुपर्छ । यसको लागि केही प्रमुख भित्री बाटाहरु अझै पनि विस्तार गर्नुपर्ने देखिन्छ । आशा गरौं, छिट्टै नै समस्त गाउँबासीहरुको सपना साकार हुनेछ जसको लागि सबैको साथ, सहयोग र सदाशयता अपरिहार्य हुनेछ ।

समस्त विश्व नै महामारीको चपेटामा छट्पटिइरहेको अवस्थामा हामी पनि अपवाद रहने त कुरै भएन् । फरक यत्ति मात्र हो मात्रा धेरै वा थोरै । त्यसैले अबका दिनमा हामी अर्थोपार्जनसँग सम्बद्ध क्रियाकलापमा जोडिनुपर्ने देखिन्छ । एकले अर्कालाई सहयोग गरी जान्नेले नजान्नेलाई पथप्रर्दशन गर्नुपर्दछ । समाजमा सबैको भावनाको कदर गर्नुपर्दछ । समाजमा व्याप्त बेथितिहरुको क्रमिक रुपमा अन्त्य गर्नुपर्दछ । यो हामी सबैको दायित्व हो र कर्तव्य पनि । महामारीको मारमा अझै पनि कतिन्जेल बस्नुपर्ने हो, कुनै पूर्वानुमान गर्न नसकिने भएकाले यस समयलाई हामीले राम्ररी सदुपयोग गर्नुपर्दछ । महामारीसँग त्यसै आत्तिनु पर्ने हुँदैन तर पनि सजग भने हुनुपर्दछ । प्रकृतिमा पाईने सम्पूर्ण वस्तुहरुको अन्त्य पनि अवश्यम्भावी भएकाले ढिलो वा चाँडो मात्र हो, महामारीको पनि एक दिन अवश्य अन्त्य हुनेछ । त्यो सुन्दर दिनको विहानीमा सूर्य पनि अन्य दिन भन्दा फरक तरिकाले उदाउनेछन् । सर्वत्र पृथ्वीमा नै अत्तर छर्के जस्तै सुगन्ध फैलिएको हुनेछ । त्यतिन्जेल सम्मका लागि हामी सबै आशावादी भएर बाँच्नुपर्छ । रातपछि दिन हुनेछ । बादल लागेर झरी परेपछि फेरि अर्को दिन पूर्वतिरबाट सूर्य मुस्कुराउनेछन् । महामारी पछिको हामी सबैको जीवन सुनौलो हुनेछ । हामी पुनः पुरानै शैली र लयमा फर्कनेछौँ । महामारी त केवल इतिहासका पानाहरुमा मात्र सुरक्षित रहनेछ ।

कतिपय मानिसले लकडाउनलाई एक उत्सवको रुपमा पनि मनाउने गरेको पाइएको छ । त्यस्तो गर्नु पटक्कै राम्रो हुँदैन् । कतिपयले लकडाउनको समयमा होटल, रेष्टुरेण्टहरुमा साथीभाइसँग बस्ने, खाने, रमाइलो गर्ने, भोजभतेर गर्ने, घुम्ने, खसी काटेर खाने गरेका छन । लकडाउनको बहानामा यस्ता थुप्रै क्रियाकलापहरु गरेको पाइएको छ । लकडाउनले नै कतिको रोजीरोटी खोसिएको छ । धेरै मानिसहरुको रोजगार गुमेको छ । श्रमिकहरु र किसानहरु भोकभोकै मर्न विवश छन् । कतिपयले विविध कारणले गर्दा उपचार नै नपाई मृत्युसँग लडिरहेको बाध्यात्मक परिस्थिति रेडियो, टि.भि.मा सुनिएको र सामाजिक सञ्जालहरुमा देखिएको छ । तर केही हुनेखाने मानिसहरुले आफूले खाएका परिकारहरु फेसबुक मार्फत् सामाजिक सञ्जालमा राखेका छन् जुन राम्रो कुरा होइन । हामीले गरिब, दुखी, उत्पीडित र महामारीको कारणले अभाव र अप्ठ्यारो जीवन भोगि रहेका व्यक्तिहरुलाई यथाशक्य जे गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यो समयलाई सबैले सृजनात्मक काममा सदुपयोग गर्नुपर्छ । महामारीको बारेमा जनचेतना फैलाउनुपर्छ । महामारी आउदैमा आत्तिनु हुदैन । धैर्य गर्नुपर्छ । संयमता अपनाउनुपर्छ । सजग रहनुपर्छ भन्ने जस्ता सूचनाहरु सम्प्रेषण गर्नुपर्छ । वास्तविकताबाट पर भाग्ने दुस्साहस कसैले पनि गर्नुहुँदैन । कसैले पनि कसैको मनमा चोट पु¥याउने, आँच आउने जस्ता कार्य कदापि गर्नुहुँदैन । दुखसुख भन्ने कुरा त जीवनमा सदैव आउने जाने गर्छन् । दुखमा नआत्तिने र सुखमा नमात्तिने हाम्रो पुरानो संस्कारलाई बिर्सनु हुदैन । पूर्वानिर्धारित जस्तै लाग्ने निश्चित समयको लागि यस धर्तिमा अवतरण भएका हामी सबै एकापसमा मिलेर बस्नुपर्छ । जीवनमा निरन्तर सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षविनाको जीवन जिउनुको औचित्य नै आखिर के छ र ?

खगेन्द्रप्रसाद पाठक

शिक्षक–श्री सरस्वतीमा.वि.
वालिङ्–१३, उदियाचौर, स्याङ्जा ।

TOP