बाबुरामलाई प्रधानमन्त्रीको जवाफ: बूढीगण्डकी आयोजनामा ९ अर्ब बाँडेर खायो भन्नु निराधार

बाबुरामलाई प्रधानमन्त्रीको जवाफ: बूढीगण्डकी आयोजनामा ९ अर्ब बाँडेर खायो भन्नु निराधार

३० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बाडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको दाबीको खण्डन गरे । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए । आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ भट्टराईको नाम नलिई प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’

प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरेका छन्। ‘देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’

केही दिनअघि गोरखाको एक सार्वजनिक कार्यक्रममा डाक्टर भट्टराईले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

 

TOP