
२९ पुस, काठमाडौं । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेखेको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध पक्ष समेटिएको छ ।
पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, शहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायत पक्षलाई विस्तृतमा विवेचना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिसडाँडामा मङ्गलबार पुस्तकको विवेचना गर्दै नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको बताइन् ।
जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताइन्। मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उनले कम्युनिष्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताइन्। नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ ।
“पुस्तक र लेखक देशभरका महिलाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । महिलाका समस्यामात्रै नभएर यस पुस्तकमा श्रमजीवी वर्ग र महिलाको मुक्तिका लागि वैज्ञानिक समाजवादका लागि समेत पहल गरेको छ”, उनले भनिन्, “कर्णालीबाट शुरु भएको भए पनि देश र समग्र विश्वलाई नै महिला मुक्तिको आन्दोलनलाई अगाडि बढाउन यस पुस्तकमा समावेश अनुभवले बाटो देखाउँछन् । पुस्तकले उठाएको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययनअध्यापन गराउनुपर्छ ।”
पूर्वमन्त्री एवं नेकपा नेतृ सत्या पहाडीले महिला मुक्ति मात्र नभई मुलुकको समग्र रुपान्तरणका लागि पुस्तक कोशेढुङ्गा सावित हुने बताइन् । लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उनले लेखेका पुस्तक कर्णालीका महिला भाग १ र २ यसअघि नै प्रकाशित भइसकेका छन् ।
30th Apr 2020 , 12:40 pm
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am