सीमा समस्या, कोरोनाको खोप खरिद र आर्थिक साझेदारी मुख्य एजेण्डा

सीमा समस्या, कोरोनाको खोप खरिद र आर्थिक साझेदारी मुख्य एजेण्डा

२९ पुस, काठमाडौँ  । आगामी १ र २ माघमा भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा विवाद समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल-भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा पनि गरिएको छ । कोभिड-१९ को महामारीका कारण उच्चस्तरमा हुन नसकेका द्विपक्षीय भ्रमणलाई निरन्तरता दिन पनि परराष्ट्रमन्त्रीको यो भ्रमण फलदायी हुनेछ।

यस्तै, नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पु¥याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने पनि विश्वास गरिएको छ ।

नयाँदिल्ली जान लागेका मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशबीच सहयोग आदान–प्रदान गर्ने विषयमा मात्र नभइ नेपाल र भारतबीचको सामरिक महत्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउनेबारेमा पनि नेपालले भारतको ध्यानाकर्षण गर्नेछ ।

यसैबीच मंगलबार  परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकाल्दै, परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन माघ १ देखि ३ गते (जनवरी १४-१६) सम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ ।

विज्ञप्ती अनुसार नयाँ दिल्लीमा भएको छैटौ संयुक्त आयोगमा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।

दिल्लीमा भ्रमणको दौरानमा मन्त्री ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उक्त भ्रमणको दौरान मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्च तहका पदाधिकारीहरुको सहभागिता रहने छ । ज्ञवाली माघ ३ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

TOP