चन्द्रशमशेरसँग तीहारमा पासा खेल्न जमिन्दारहरु लाखौंका सिक्का बोकेर पुग्थे दरबार

काठमाडौं- दशैं तथा तिहारमा मानिसहरु ठूलाे मात्रामा जुवातास खेल्छन् । जुवातास खेल्न र खेलाउन कानूनले अपराध मानेपनि लुकीछिपी सानाे खाल मात्र हाेइन ठूला-ठूला खालहरु समेत खेलाउने गरिएको पाइन्छ ।केही दिन अघिमात्र प्रहरीले काठमाडौंमा झण्डै तीन करोड नगद सहित जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ  गर्‍यो । जुवातास खेल्ने खेलाउने विरुद्धको अभियानलाई प्रहरीले मुलुकभर तीव्र बनाइरहेको छ ।

त्यसो त यस्तो जुवातास अहिले मात्र होइन राजा महाराजाका पालामा समेत प्रचलनमा थियो । कहिले सकुनी पासा, कहिले काैडा हुँदै अचेल तीनपत्ती सम्म पुगेको छ ।राणाकालमा  यमपञ्चक अबधिभर चन्द्रशमशेरले ऐयासी, विलासी, कुलिन, घरानियाँ र साहु, महाजन तथा जमिन्दारका लागि जुवा खेल्न आफ्नो बैठककक्ष खुला गर्ने गर्दथे ।

देशभरका गनिएका घरानियाँ जुवाडेहरु श्री ३ को दर्शन भेट पनि गर्ने र त्यही मौकामा जुवा पनि खेल्ने भनेर आउँथे । उति बेलाका समयमा पनि ती धनाढ्य तथा जमिन्दारहरुले लाखौंका सिक्का भरिया लगाई बोकाएर चन्द्र शमशेरकहाँ आउने गरेका थिए ।

श्री ३ को दरवारमा पुगेपछि नाम टिपाएर ‘फलाना मानिस, फलाना ठाउँबाट, यति दिनको बाटो हिंडेर आई जुवा खेल्नका लागि श्री ३ सरकारको हुकुमको प्रतिक्षा गरेर बसिरहेको छ’ भनेर सूचना दरवारभित्र पुर्याइन्थ्यो ।

उनीहरुलाई क्षणभरमा बोलाहट हुन्थ्यो । गएका सबैलाई दरवारभित्रै खाना र नास्ताको व्यवस्था हुने गर्दथ्यो । बढी रकम लिएर गएकाहरुको त शान नै छुट्टै । उनीहरुको तारिफ र बखान पनि चन्द्र शमशेर cfफैले गर्ने गर्दथे । उनी भन्थे, ‘हेर भाइभारदार ! उनी भनेका यस्ता उस्ता… आदिआदि’ ।

दरवारका सुसारेहरुमध्ये केही यिनै जुवाडेका स्याहारसुसारका लागि खटाइएको हुन्थे । खानाका लागि चौरासी व्यञ्जनका परिकारहरु तयार पारिन्थे । बट्टाइको सेकुवा, प्युराको झोल, बँदेल र खसीबोकाको कवाब, जरायोको सुकुटी र बम्बैबाट ल्याइएका माछाको विभिन्न परिकार तयार पारिएका हुन्थे ।

आफै त दरबारिया परिकार, त्यसमा पनि दरवारका सुन्दरसुन्दरीहरुले ‘टक्र्याउँदा’ जुवाडेहरु बेहोशै हुने । ‘राज होस्’, ‘ज्युनार होस्’, ‘मर्जी होस्’, ‘सुकला होस्’, ‘हुकुम होस्’, ‘आज्ञा शीरोपर’ र ‘हस् हजुर’ भन्दा अर्को जवाफ नआउने यिनीहरुको सेवाले जुवाडेहरु भुतुक्कै हुने ।

त्यसमाथि दरवारमा पुगेपछि थोरै भए पनि प्रसादका रुपमा लिनु पर्ने ‘सोमरस’ ले त उनीहरुलाई बेहोसै बनाइदिने । अत्तरको बासनाले कोठै मगमगाउने र विभिन्न बत्तिहरुको प्रकाशले वैठक हल नै जगमगाउने ।

सेवाले प्रफुल्ल र सोमरसले झुल्ल परेपछि निश्चित संख्याका आधारमा खेलिने जुवाको आहालमा सजाइएको मुख्य आसनमा चन्द्र शमशेरको आगामन हुँदा उपस्थित सबै भूईंमा घोप्टो परी साष्टांग दण्डवत् प्रणाम गर्थे । चन्द्र शमशेर पछिको स्थान र रोहमा सबैभन्दा बढी पैसा लिएकाहरु बस्दथे । कम पैसा भएकाहरुका लागि अलि टाढाटाढा गोलोघेरामा बसाइ मिलाइएको हुन्थ्यो ।

दरवारिया गुरुहरुको मन्त्र वाचनसँगै शंखनादका साथ रणमैदान जस्तो गरी घण्ट र बाजाहरु बजाउँदै खेल उद्घाटन गरिन्थ्यो । यसका लागि उपस्थितहरुले आफूहरुसँग रहेको निस्चित रकम स्वागत नजराना चढाउँथे श्री ३ लाई । चमचमाउँदा दाँत भएका चन्द्र शमशेर ‘हा हा हा’ गरेर हाँसेभने मानिसहरुको मुटु नै थर्कादिने । आफै त श्री ३, त्यसमाथि उनको त्यो अट्टहास !

यति गरिसकेपछि श्री ३ को गौरव र गरिमाले हल छपक्कै छोप्ने गर्दथ्यो । यही मौका पारेर श्री ३ चन्द्रशमशेरले खेलको उद्घाटन गर्ने भन्दै हातमा कौडा लिंदै गर्दा उपस्थितहरुले ‘श्री ३ को जय होस्’ भन्दै लगाएको कर्तलध्वनीका माझ उनले नैनसूतको सेतो कपडामाथि कौडा फ्याँक्दै गर्जन्थे– ‘मार्रा !’ उनी गर्जदासम्म पूर्व सहमति अनुसार दाउँ लगाउने पैसा भोटे कम्मलमाथि थुपारिइसकेको हुन्थ्यो ।

सबैका आँखा नैनसूतको कपडामाथि फ्याँकिएका कौडाहरुमाथि स्वतः पर्थे । तर कौडा भने श्री ३ ले भनेजस्तो बाजी मार्ने गरी फर्किएका हुँदैन थे । धेरै त घोप्टो परेका हुन्थे । बाजी नपरेको देखेपछि चन्द्रशमशेर अरु नबोल्दासम्म चूप रहन्थे । लामो सास फेर्दै अरु कसैले ‘बाजी परेन के गरौं सर्खार’ भनेपछि उनले भन्ने गर्थे– ‘मेरो हुकुम हो, मार्रा भनेर बोलिसके, गोटी पल्टा न त ।’

नजिकमा रहेकाहरुले जित्ने गरी गोटी पल्टाइदिन्थे । यसपछि चन्द्रशमशेर फेरि मर्नेगरी हाँस्थे– ‘हा हा हा !’ यसपछि शंखघण्ट बजाइन्थे । उनले सबैको अनुहार नियाल्दै जनादेश माग्थे– ‘गोटी पल्टिए, जीत मेरै भयो, फेरि हानौ ?’ जितेको मानिसलाई कसरी नहान भन्नु, त्यसमाथि श्री ३, देशका हर्ताकर्ता ।

उनले कौडा हातमा लिंदा फेरि शंखघण्ट बजाइन्थे । उनको बोली फेरि फुट्थ्यो– ‘मार्रा !’ यस पटक पनि गोटी उसै गरी पल्टिएका हुन्थे, जसरी अघिल्लो पटक पल्टिएका थिए । फेरि चूप रहन्थे उनी । कसैकसैबाट ‘सोधनी’ हुन्थ्यो– ‘के गरौं सरकार ?’ फेरि उनको मुखबाट आउँथ्यो– ‘हुकुम हो फिर्ता लिन बनेन, पल्टाइदेऊ न गोटी ।’ फेरि गोटी पल्टाइन्थे र चन्द्रशमशेर फेरि अट्टहासको हाँसो हाँस्थे ।

पासा वा कौडा खेल्न गएकाहरुको पैसा नसकिँदासम्म यही प्रक्रिया दोहरिइरहन्थ्यो । यस्तो रित तिहारको यमपञ्चकभर खुल्ला हुन्थ्यो र श्री ३ को दरवारमा कौडा वा पासा खेल्न जानेहरुको भीड नै लाग्दथ्यो । त्यति बेलाको मान्यता थियो श्री ३ सँग पासा खेल्नु भगवान विष्णुसँग पासा खेल्नु बराबर हो, यसले सबै पाप नष्ट हुन जान्छ र मोक्ष प्राप्ती वा स्वर्गको ढोका खुल्छ ।पैसा त सबै श्री ३ ले खाइदिए भनेर यदि कसैले भन्यो भने यो त विष्णुका अवतारलाई चढाएको भनी प्रशन्न मुद्रामा जवाफ दिने गर्दथे, जुवा खेल्न दरवार पुगेकाहरु !

Loading
TOP