प्रचण्ड–नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गर्ने तयारी

प्रचण्ड–नेपाल पक्षद्वारा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गर्ने तयारी

११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधिएकोमा उनले त्यसको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिए ।

शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

TOP