कोरोनाविरुद्धको खोप अभियान शुरु, तीन महिनामा सबैलाई खोप लगाइन्छ – प्रधानमन्त्री ओली

कोरोनाविरुद्धको खोप अभियान शुरु, तीन महिनामा सबैलाई खोप लगाइन्छ – प्रधानमन्त्री ओली

१४ माघ, काठमाडौँ । आजदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो खोप आफुले लगाएको डा. राजभण्डारीले बताएका छन् ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन् ।

तीन महिनामा सबैले खोप पाउछन् – प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओलीले खोप अभियानको शुभारम्भ गर्दै कोरोनाविरुद्धको लडाईमा आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यस अभियानमा देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेर कोरोनाविरुद्धको लडाईमा खेलेको भूमिकाका लागि प्रसंशा गरेका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीले अप्रत्याशित रुपमा ज्यान लिएको प्रति दुख व्यक्त गर्दै मृतकका परिवारहरुलाई समवेदना प्रकट गरेका छन् । उनले अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने बताए । मानिसहरुले सतर्कता अपनाउदै आएकोले पहिला जस्तो महामारीको अवस्था नआउने बताए ।

प्रधानमन्त्री ओलीले खोप प्राप्त भएपनि कोरोनाबाट बच्ने उपाय भने अपनाउदै जानुपर्ने बताए । उनले पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाको खोप उपलब्ध गराएकोमा भारत, भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए ।

उनले अन्य संघ संस्थाहरुसँग पनि कुरा भइरहेको र भारत सरकारसँग थप खोप किन्ने विषयमा कुरा भइरहेको बताउदै प्रधानमन्त्री ओलीले थप खोप उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

उनले विश्वका अन्य देशको तुलनामा नेपालमा क्षति कम भएको बताउदै पहिलो कोरोनाको केस देखिदा परिक्षण गर्ने ठाउ नभएकोमा अहिले ८२ ठाउबाट कोरोनाको परिक्षण भइरहेको बताए ।

उनले आगामी तीन महिनाभित्र सबैलाई खोप लगाएर सकिने गरि सकरार अगाडी बढिरहेको बताए ।

खोप केन्द्र :

काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।

यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए ।  खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र  १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७  जिल्लाका ३००  खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ  ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ ।  कोभिशिल्ड  खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास  गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ ।  खोप केन्द्र  रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।

क-कसले पाउँछन् ?

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ७० हजार ९२ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार १७ जनाको निधन भइसकेको छ ।

कस्तो असर हुनसक्छ ?

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए ।

खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।

TOP