काँग्रेसले सरकारमा जाने बारेमा सोच्नु हुदैन – अर्जुन नरसिंह केसी

काँग्रेसले सरकारमा जाने बारेमा सोच्नु हुदैन – अर्जुन नरसिंह केसी

१३ फागुन,  काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले काँग्रेस तत्काल सरकारमा जाने बारेमा सोच्नु नहुने बताएका छन् । खरीबोटसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै नेता केसीले काँग्रेसलाई गत निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले अहिले सरकारमा जाने बारे सोच्न नहुने बताएका छन् ।

नेता केसीले परिस्थिति निर्माण भएमा नेकपाकै कुनै पक्षलाई बाहिर बसेर समर्थन गर्नुपर्ने आफ्नो जोड रहेको टिप्पणी गरका छन् ।

उनले खरीबोटसँग भने,’काँग्रेस अहिले सरकारमा जाने बारेमा सोच्नु हुदैन । आवश्यक भएमा तीन बर्षको दोष र जस तिमीले नै लेऊ भनेर नेकपा कै एक पक्षको नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्नुपर्छ भन्ने मेरो विचार हो । यद्यपि हामी अहिले छलफल मै छौ र जनता र देशको पक्षमा नै निर्णय लिन्छौं ।’

नेता केसीले नैतिक रुपमा राजीनामा दिनुपर्नेमा नदिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना समेत गरेका छन् । संसदीय प्रणालीमा यति हुदा प्रधानमन्त्री कुर्सिमा बस्न मिल्दैन तर अहिले पार्टीको विवाद र बिभाजन मिलाउन राजीनामा नदिएको हुनसक्ने उनको टिप्पणी रहेको छ । निर्वाचन आयोगले पनि तुरुन्त निर्णय गरेर नेकपाको विवाद टुंगाउनु पर्ने उनको जोड छ ।

अब विकसित हुने राजनीतिक घटनाक्रम नेकपाको विवाद कसरी अगाडी बढ्छ भन्नेमै रहेको बताउदै केसीले भने, ‘अहिले पनि नेकपा कानुनी विभाजित भएको छैन । त्यसैले काँग्रेसले कसलाई समर्थन गर्ने या विरोध गर्ने भन्ने प्रश्न नै छैन । अहिले पनि कानुनी रुपमा नेकपाको बहुमतको सरकार छ । त्यसैले नेकपा कानुनी रुपमा विभाजित भए मात्र काँग्रेसले नयाँ सरकार बारे आफ्नो धारणा अवश्य बनाउछ ।’

नेता केसीले काँग्रेस सधै संबिधानवादको पक्षमा रहेको भन्दै सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको टिप्पणी गरेका छन् । उनले ऐतिहासिक फैसला गर्ने न्यायमूर्तिहरुलाई धन्यवाद एवं बधाई दिदै देश अब संबिधानको बाटोमा फर्किएको टिप्पणी गरेका छन् ।

TOP