नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख- अस्पताल

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख- अस्पताल

१६ फागुन,  काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको यहाँस्थित आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ ।

शनिवारको तुलनामा जोशीको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।

झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् ।

जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने नखोलेको डा. झाले बताए ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको र उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको अस्पतालले अपडेट दिएको छ ।

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने,‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

TOP