१७ लाख ज्येष्ठ नागरिकलाई आजदेखि खोप

१७ लाख ज्येष्ठ नागरिकलाई आजदेखि खोप

२३ फागुन, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबार (आज) देखि सुरु गर्ने भएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।

सरकारले ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गरेको हो । शनिबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइने बताए ।

खोप उपलब्धताका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्दै ६५ वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए । ५५ वर्षमाथिकालाई १० दिनपछि मात्र खोप लगाइने भएको छ । ५५ देखि ६४ वर्षसम्मका नागरिकले भने चैतमा मात्र खोप लगाउन पाउने भएका छन् ।

खोप उपलब्धताका आधारमा त्यसलगत्तै अर्को २८ लाख जनसंख्यालाई खोप लगाइने समेत उनले जनाए । ढुक्क भएर खोप लगाउन आग्रह गर्दै स्वास्थ्यमन्त्रीले खोपको नकारात्मक असर देखिए उपचार गर्ने व्यवस्था गरिएको बताए ।

TOP