वेगनासताल प्रवर्धन गर्न अभियान समूह गठन

वेगनासताल प्रवर्धन गर्न अभियान समूह गठन

२७ फागुन,  पोखरा । “हामी र हाम्रो शान, वेगनास ताल हाम्रो आँगन” भन्ने नाराका साथ हाम्रो वेगनास ताल, राम्रो बेगनासताल  प्रवद्र्धन अभियान समूह गठन भएको छ ।

तालैतालको शहर पोखराको लेखनाथमा रहेको वेगनासको सौन्दर्यमा थप निखार ल्याएर प्रवद्र्धन गर्ने उद्देश्यसहित अभियान समूह गठन भएको हो ।  तालको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि विभिन्न उमेर समूहका क्रियाशील  व्यक्तिको भेलाले नवराज ओझाका संयोजकत्वमा प्रवद्र्धन तदर्थ समिति गठन गरेको हो  ।

अभियानको तदर्थ समितिका सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जारा, केशव आचार्य, विनोद थापा, गोविन्द जलहारी, हरिबहादुर थापा, सुरेन्द्रबाबु तिवारी, रामबहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा तथा  सल्लाहकारमा डा इन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुङ्गाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेको सदस्य  सापकोटाले जानकारी दिए ।

“पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये थोरै मात्र वेगनास ताल घुम्न आउने गरेका छन् । कतिलाइ त यो सुन्दर तालका बारे थाहा नै छैन । तसर्थ यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि अभियान समूह गठन गरिएको हो”, संयोजक ओझाले भने ।

समूहले वेगनासमा पर्यटक भित्र्याउन र बसाइ लम्ब्याउन विभिन्न निकायसँग छलफल र अन्तरक्रिया तथा बृहत्तर वेगनासको विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिने उनले जानकारी दिए । भेलाले तदर्थ समितिलाई विधान तयारी, संस्थाको आगामी उद्देश्य, बेगनास र वरिपरिको क्षेत्रको पर्यटन प्रवद्र्धन र सामाजिक क्रियाकलापका विषयमा योजना बनाउन  स्वीकृति दिएको छ ।

पोखराको लेखनाथमा अवस्थित सा ताल ३.७३ वर्ग किलोमिटर (३७३ हेक्टर) छ । साढे सातदेखि १०.६ मिटर गहिराइ भएको  तालमा २०४४ सालमा बाँध बाँधिएपछि क्षेत्रफल २२० हेक्टरबाट बढेर ३७३ भएको सदस्य सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी वेगनासताल युवा क्लबले शुरु गरेको बृहत् वेगनास ताल सफाइ अभियानको ९२औँ शृङ्खला पुगेको छ । क्लबले हरेक हप्ता सदस्य र विभिन्न सङ्घसंस्था सफाइ अभियानकर्मीका साथमा तालका वरपर सरसफाइ गर्दै आएको छ ।

TOP