सर्वोत्कृष्ट युवा पुरष्कार भण्डारीलाई

सर्वोत्कृष्ट युवा पुरष्कार भण्डारीलाई

काठमाडौँ ।

राष्ट्रिय समाचार समिति राससको उपसम्पादक एवं नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारी यस वर्षको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

रिपोर्टर्स क्लव नेपालको २३ औँ बार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र क्लवका ऋषि धमलाले उनलाई सर्वोत्कृष्ट युवा पत्रकारिताबाट पुरस्कृत गरेका थिए ।

पत्रकारिता तथा आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर भण्डारी झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यस अलावा उनी पत्रकारिता अध्यापन कार्यमा समेत संलग्न छन् भने सञ्चारकर्मीहरुको अन्तर्राट्रिय संस्था युनिमीको नेपाल च्याप्टरको महासचिव, पाल्पाली संगमको सचिव, विनय कसजु स्मृति प्रतिष्ठानको संस्थापक सचिव र विभिन्न संघ सस्थाको प्रेस सल्लाहकार भै सामाजिक सेवामा पनि सक्रिय रहेका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नं १० मा पिता तुलसीप्रसाद भण्डारी र माता दुर्गा भण्डारीको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका भण्डारीको पत्रकारिता पाल्पाको गाउँले देउराली साप्ताहिकबाट सुरु भएको हो ।

सो क्लवले उनीसँगै अन्य नौ पुरस्कार पनि प्रदान गरेको थियो । क्लवको यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रा.लीका कार्यकारी अध्यक्ष गोपाल गुरागाईँलाई, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई, सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उपसम्पादक विनु सुवेदीलाई, बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमका फोटो पत्रकार मुकुन्द कालिकोटे, वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उपसम्पादक अनन्त अनुराग, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार डिसी नेपाल डटकमका सहसम्पादक मदन कोइराला र प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दीपक अर्याल लगायतलाइ प्रदान गरेको छ ।

TOP