सरकार गठन सम्बन्धमा काँग्रेसले माओवादी र जसपासँग वार्ता गर्दै

सरकार गठन सम्बन्धमा काँग्रेसले माओवादी र जसपासँग वार्ता गर्दै

काठमाडौँ – नेपाली कांग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रसँग छलफल गर्दैछ । कांग्रेसले पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे जसपा र माओवादीसँग वार्ता गर्न लागेको हो ।

यो बैठकसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने कांग्रेसको विश्वास छ। शुक्रबारको बैठकका लागि जसपाका दुवै खेमाका नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष निम्तो दिएका छन् । देउवाको निम्तोलाई जसपाका नेताहरुले सकारात्मक रुपमा लिएको स्रोतले बताएको छ ।

बैठकमा जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि सहभागी हुने बताइएको छ । ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय एकलौटी भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

कांग्रेसले आफूहरुसँग सल्लाह गरेर निर्णय गरेको भए सरकार गठनबारे छलफल अघि बढ्न सक्ने जसपा नेता महतोले केही दिनअघि प्रतिक्रिया दिएका थिए।

ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला गरेको ३९ दिनपछि चैत २० गते मात्रै कांग्रेसले ओलीलाई सत्ताबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

शुक्रबार देउवाले बोलाएको बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागी हुने छन्।

Loading
TOP