विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालको सन्देश : सञ्चारजगत् र पत्रकारहरूको रोजगारी सुरक्षा होस्

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालको सन्देश : सञ्चारजगत् र पत्रकारहरूको रोजगारी सुरक्षा होस्

काठमाडौं, बैशाख २० । एमालेका नेता माधवकुमार नेपालले कोभिड कहरमा सञ्चारजगत् र पत्रकारहरूको रोजगारी सुरक्षाको माग गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड १९ का कारण सञ्चारमाध्यमहरु संकटमा रहेकाले सुरक्षाको बन्दोवस्त गरिदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेता नेपालले पछिल्लो समय अलोकतान्त्रिक तथा प्रतिगामी कदमका विरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाको सराहना पनि गरेका छन् ।

 “यसक्रममा पत्रकारहरूमाथि भएको धरपकड अन्त्य गरी पूर्ण प्रेस स्वतन्त्रताको मूल्य मान्यता विपरितका कार्य बन्द गर्न आग्रह गर्दछु । प्रेस आफैं पनि मर्यादित हुन जरुरी छँदैछ तर त्यसलाई राज्य नियन्त्रित बनाउनुभन्दा पनि स्व–नियमको माध्यमबाट सुधार गर्ने प्रशस्त ठाउँहरु रहेका छन् । प्रेस स्वतन्त्रतालाई संविधानप्रदत्त अधिकारका रूपमा स्थापित गरेपछि नेपालमा सञ्चार माध्यमहरू खुल्ने क्रम जारी छ । अहिले कोभिड १९ का कारण सञ्चारमाध्यमहरु संकटमा छन् । अतः सञ्चारजगत् र पत्रकारहरको रोजगारी सुरक्षाका निमित्त विशेष कार्यक्रम तत्कालै सार्वजनिक गर्न सरकारसँग अनुरोध गर्दछु,” उनले सन्देशमा भनेका छन् ।

उनले सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्दै विधि–पद्धति र न्यायको पक्षमा दृढतापूर्वक उभिन शुभकामना पनि दिएका छन् ।

Loading
TOP