एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्किन तयार भएका छन् ।

बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो । छलफलमा पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।

बैठकले जेठ २ गते अघिका कुरालाई आधार बनाएर छलफल गर्ने सहमति गरेकाे नेता भीम रावलले जानकारी दिए । त्यसका लागि कार्यदल बनाइने र कार्यदलमा काे-काे रहने भनेर नेताद्वय ओली र नेपालले टुङ्ग्याउने उनले बताए ।

शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । त्यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो । बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । कार्यदलमा रहने भनिएका नेताहरुसहित शुक्रबार वार्ता भएको हो ।

यसका लागि कार्यदल बनाउने सहमति भएको छ । दुई नेताहरु बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने एमाले नेता भीम रावलले जानकारी दिएका छन् ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।

तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँदैनन् । गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गरेका छन् । अब नेपाल समूहको शर्त मान्नलाई अध्यक्ष ओलीले ५ पुसयता बनेका सबै कमिटी विघटन गर्नुपर्ने हुन्छ ।

माधव नेपाल समूहले ४-५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । सहमति जुट्दा यो कमिटी पनि खारेज गर्नुपर्ने हुन्छ ।

नेताहरूका अनुसार यसमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन ओली तयार भए माथिल्ला कमिटीमा माओवादीबाट  कमिटीहरूमा आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताएका छन् ।

Loading
TOP