पहिलो ए डिभिजन उपाधिसंगै मच्छिन्द्रले जित्यो ५० लाख

पहिलो ए डिभिजन उपाधिसंगै मच्छिन्द्रले जित्यो ५० लाख

काठमाडौैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले हात पारेको छ। विभागीय टिम आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि चुमेको हो।

दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपाधि जित्ने आर्मीको लक्ष्य तुहियो। आर्मीले उपविजेतामै चित्त बुझाएको छ।
उपाधिका लागि आर्मीले मछिन्द्र क्लबसँग बराबरी खेलेको भएपनि पुग्ने थियो। तर आफ्नै खेलाडीको आत्मघाती गोल उसका लागि महंगो सावित भयो।

खेलको ३३औं मिनेटमा आर्मीका खेलाडीले रेजिन सुब्बालाई फोउल गरेपछि मछिन्द्र क्लबले फ्रिकिक पायो। मछिन्द्रका लागि रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे। योसँगै मछिन्द्र १–० गोलले अघि रहेको थियो।

विकास तामाङले क्लियर गर्न नसकेपछि बललाई बचाउने क्रममा पोलमा ठोकिएर आर्मीका गोलकिपर विकेश कुथु भने गम्भिर घाइते हुँदै मैदानबाट बाहिरिए। उनको स्थानमा बिवस चौधरीले गोल किपरको जिम्मा पाएका थिए।

खेलको ६०औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले गोल गर्न सकेनन्। डिबक्सभित्र वान भर्सेस वानको अवस्थामा देवेन्द्रले प्रहार गरेको बल आर्मीका गोल किपर बिवस चौधरीले उत्कृष्ट बचाउ गरे।

खेलको अतिरिक्त समयमा आर्मीले कर्नरबाट गोल गर्ने राम्रो अवसर पाएको थियो। तर बाधक विशाल राई बने। विशालले गोल लाइनबाट हेड गर्दै मछिन्द्रलाई बचाए।

जितसँगै मछिन्द्रले १३ खेलबाट १० खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै ३१ अंक बनाएर लिग जितेको हो। उपविजेता आर्मीले भने १३ खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको आर्मी २९ अंक बनाएर उपविजेता बनेको हो।

Loading
TOP