नेकपामा संबिधान संशोधनको लफडा : वामदेव राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने प्रयास असफल

नेकपामा संबिधान संशोधनको लफडा : वामदेव राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने प्रयास असफल

१३ फागुन,  काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै कार्यदल बनाएपछि देशको राजनीति एकाएक तरंगित भएको छ ।

नेकपाले शनिबारको सचिवालय बैठकबाट वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको हो ।

तर चौतर्फी नकारात्मक प्रतिक्रिया आएपछि अहिले नेकपाका नेताहरुले कार्यदल गठन नै नभएको बताउन थालेका छन् भने कसैले अनभिज्ञता प्रकट गरेका छन् ।

एक पछि अर्को काण्डहरुमा फस्दै गएको नेकपा पछिल्ला केहि दिनमा मात्र बास्कोटा प्रकरण, एमसीसी, प्रधानमन्त्रीको जन्मदिनको केक विवाद हुदै अब संबिधान संसोधनको लफडामा नेकपा फसेको छ ।

कार्यदलमा रहेका भनिएका पूर्वसभामुख नेम्वाङले वरिष्ठ नेता  नेपालसँग अनौपचारिक छलफल भएको र आफुले यो राम्रो नभएको नेता नेपाललाई बताएको जानकारी दिएका छन् ।

कार्यदल बारे विवाद भएपछि आज नेता नेपाल निवासमा अनौपचारिक छलफल भएको हो । सो छलफलमा आफुले आफ्ना कुरा राखेको बताउदै नेम्वाङले संविधान संशोधन जिम्मेवारीपूर्वक हुनुपर्ने बताएका छन् । उनले आवश्यकता र औचित्यका आधारमा संबिधान संशोधन हुनुपर्ने बताउदै यो व्यक्तिगत कुरा नभएको स्पष्ट गरेका छन् । 

नेम्वाङले समाजवादी पार्टी र राजपाले हामीसँग कुरा गर्दा हामीले आवश्यकता र औचित्य स्थापित भएको ठानिएन तर अहिले कसरी औचित्य स्थापित हुन्छ भन्दै प्रश्न गरेको बताएका छन् ।

कसरी आयो संबिधान संशोधनको विषय ? 

खासगरी नेकपाको चर्चित भैसेपाटी बैठकले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजाने र तत्कालिन माओवादी पक्षलाई नै सभामुख दिने सहमति गरेको थियो । सोहि सहमति अनुसार तत्कालिन माओवादी पक्षले सभामुख पाए पछि वामदेवले शनिबारको बैठकमा आफुलाई राष्ट्रिय सभामा लैजाने बारे विषय उठान गरेका थिए । 

सो बैठकमा पार्टी उपाध्यक्षसमेत रहेका गौतमलाई राष्ट्रिय सभामा लैजान प्राय:सबै सहमत भएपछि गौतमले राख्दै आएको माग राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सकिने प्रावधान बनाउन अहिले कार्यदल गठन गरिएको हो । 

गौतमलाई राष्ट्रपतिद्दारा मनोनित गरेर राष्ट्रिय सभामा ल्याउने तयारी भइरहेको छ ।

राष्ट्रपतिबाट मनोनित भएका अहिलेका अर्थमन्त्री युवराज खतिवडाको संसद अवधि फागुन २१ देखि सकिने भएकाले गौतमलाई उनको ठाउमा ल्याउने तयारी नेकपा नेतृत्वले गरेको हो । अहिलेको संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन् ।  

आमतहबाट विरोध :

नेकपाले संबिधान संशोधनको कार्यदल बनाएको विषय आमरुपमा नै आलोचनाको विषय बनेको छ ।

सामाजिक संजालमा धेरैले यो राष्ट्रीय सभाको सदस्य प्रधानमन्त्री हुन पाउने व्यवस्था गरिनु लोकतन्त्रकै हत्या गर्नु भएको रुपमा ब्याख्या गरेका छन् ।

नेकपा भित्रको यस विकसित राजनीतिक घटनाक्रमलाई पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विनाशकाले विपरित बुद्धिको संज्ञा दिएका छन् ।

उनले निर्वाचन हारेका वा चुनाव नलडेका व्यक्तिलाई प्रमुख कार्यकारी बनाउनु वस्तुत लोकतन्त्रको हत्या गर्नु भएको बताएका छन् ।

उनले लेखेका छन् – ‘ विनाशकाले विपरित बुद्धि!निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उपहास मात्र नभै वस्तुत: त्यसको हत्या हो ! २/३ को दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर !

शिर्ष नेता चुप :

शनिबारको बैठक पछि आइतबार मात्र संबिधान संशोधनका लागि कार्यदल बनाएको विषय बाहिर आयो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड कैयौ सार्वजनिक कार्यक्रममा सहभागी भएपनि संबिधान संशोधन र कार्यदलका बारेमा मौन रहेका छन् । माहासचिव विष्णु पौडेलले त यसबारेमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कार्यदलकै सदस्य नेम्वाङले समेत शुरुमा आफलाई जानकारी नभएको बताएका थिए ।

शक्ति संघर्ष चर्किदै :
 

पार्टी एकीकरण भएको लामो समय भएपनि नेकपा भित्र प्रष्ट रुपमा समय समयमा फरक फरक एजेन्डामा शक्ति संघर्ष चालिनै रहेको छ ।

पार्टी र सरकारको तालमेल नमिल्दा नत सरकार भने जस्तो गरि चलेको छ नत पार्टीको एकीकरण नै भावनात्मक रुपमा हुन सकेको छ ।

अहिले गुकोल बास्कोटा प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली ब्याकफुटमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरु रणनीतिक रुपमा नै प्रधानमन्त्री ओलीविरुद्ध लागेको घटनाको रुपमा यो कार्यदल गठनको घटनालाई लिइएको छ ।

अब चौतर्फी आलोचना पछि कार्यदलको औचित्य नै नरहेको जस्तो अवस्था आएको छ । धेरै हदसम्म नेम्वाङले समेत यसलाई प्रष्ट गरेका छन् । उनले पार्टीको तहबाट यस्तो निर्णय भयो होला भन्ने आफुलाई अहिले पनि नलागेको बताएका छन् ।

वामदेवको प्रयास फेरी असफल !

वामदेव गौतमले गत निर्वाचनमा पराजय बेहोरेपछि पटक पटक संसदमा जान र प्रधानमन्त्री बन्न गरेको प्रयास यस पटक पनि असफल हुने देखिएको छ । प्रतिनिधि सभामा जान २-३ पटक प्रयास गरेर पछि गतेका वामदेव यस पटक राष्ट्रिय सभामा गएर प्रधानमन्त्री बन्न गरेको प्रयास शुरु नहुदै असफलता तिर जादै गरेको देखिएको छ ।

पार्टीले आधिकारिक निर्णय नै गरेको भएपनि नेताहरुले नै त्यसको वनरसीप नलिएपछि अब यो कार्यदलको औचित्य नै सकिएको जस्तो भएको छ र वामदेव राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने प्रयास पनि असफल भएको देखिएको छ ।   

Loading
TOP