प्रधानमन्त्रीको जन्मदिनले ज्ञानेन्द्रको न्यास्रो मेटायो

प्रधानमन्त्रीको जन्मदिनले ज्ञानेन्द्रको न्यास्रो मेटायो

१३ फागुन, काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको न्यास्रो मेटाएको बताएका छन् ।

मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’

प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि थापाले टिप्पणी गरेका थिए ।

‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ । यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ । तर यसबारे संसदमा आएर आँखा जुधाएर जवाफ दिने हिम्मत गर्नुपर्छ,’ नेता थापाले भने ।

नेता थापाले सभामुखलाई प्रधानमन्त्रीलाई संसद उपस्थित हुन रुलिंग गर्न आग्रह गरे ।

यस्तै उनले प्रधानमन्त्रीका गतिविधिबारे नागरिक र आफ्नै कार्यकर्ताले समेत कडा आलोचना गर्न थालेको बताएका थिए । उनले प्रश्न गरे, ‘तपाईँलाई थाहा छ, नागरिक के भन्दैछन् ? फोर जी र स्याटलाइटको ठेक्कामा पनि करोडौं भ्रष्टाचार भएको छ । सम्माननीय प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो भन्दैछन् ।’

सांसद थापाले प्रधानमन्त्रीले भ्रष्ट्राचारीको अनुहार हेर्दिन भन्दै गर्दा आम जनताले बालुवाटारमा ऐना छ कि छैन भनेर प्रश्न गर्न थालेको बताए ।

Loading
TOP