‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’

‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’

१४ फागुन, काठमाडौं । कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मठमन्दिर छरिएर रहे पनि प्राचीन सिद्धनाथ बाबाको मन्दिर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म करिब ४२५ किलोमिटर महाकाली करिडोरको सडक निर्माणाधीन अवस्थामा छ । भारतदेखि चीनसम्म जोडिने नाका भएकाले यसलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्यका साथ एक दशकअघि करिडोर निर्माण थालिएको हो । धार्मिक पर्यटनका दृष्टिले पनि स्थलमार्गबाट सिद्धनाथ मन्दिरबाट दार्चुलाको मालिकार्जुन हँुदै कैलाश मानसरोवरसम्म पुग्न छोटो पर्ने भएकाले महाकाली करिडोर बने धार्मिक पर्यटनको समेत वृद्धि हुने आशा सुदूरपश्चिम प्रदेशमा गरिएको छ ।

ब्रह्मदेव धार्मिक क्षेत्रबाट शुरु गरिने करिडोरले चुरे महाभारत पर्वतअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुरामधामसित पनि जोडिने छ । परशुरामधामको पनि धार्मिक महत्व छुट्टै छ । विसं १४७५ मा भारतको झारखण्डबाट बिहार, कुमाउ कतुरकोट गरुडगोवती हँुदै सिद्धबैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ ।

परशुरामधाममा रहँदा सिद्धबैजनाथ बाबाको त्यहाँका तत्कालीन राजा नागी मल्लसित खटपट भएपछि उहाँ सो ठाउँ छाडेर बुड्डीमलास पिपलकोट ९हालको वेदकोट क्षेत्र० मा आई तपस्या गरेको धार्मिक मान्यता छ । करिडोर बैतडी पुगे त्यहाँका धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य त्रिपुरासुन्दरीको मन्दिरको फेद हँुदै दार्चुलाका लागि अगाडि बढ्ने छ । “महाकाली करिडोर आवागमन र व्यापारिक नाका मात्रै नभएर यहाँका पर्यटकीय गन्तव्यसम्म पुग्ने सहजताका रूपमा पनि रहेको छ”, भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पासम्म पुग्ने करिडोर सहज नाका हुनेछ ।”

उहाँले सुदूरपश्चिम जलस्रोतका साथै पर्यटकीय दृष्टिकोणले पनि अन्य प्रदेशको तुलनामा धनी प्रदेश रहेको बताउनुभयो । “अब महाकाली करिडोरको फाइल प्रक्रिया पु¥याउने नाममा रोकिनु हँुदैन”, उहाँले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ल्याउनै दशक बिताउने छुट कसैलाई हुनुहँुदैन ।”

सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसेमैदानमा विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गरेर सहजै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन् । “त्यसका लागि अब करिडोर निर्माणमा भइरहेको ढिलाइबारे सरकारले गम्भीर चासो दिनुपर्ने देखिएको छ”, वडाध्यक्ष नाथले भन्नुभयो, “पर्यटकको सहजताकै लागि भीमदत्तनगरपालिकाले पर्यटनमार्गदेखि जैविकमार्ग सञ्चालनमा ल्याइसकेको छ ।”

उहाँले करिडोर निर्माण क्षेत्रमै भीमदत्तनगरपालिकाले खल्लामसेटीमा ¥याफ्टिङका लागि पनि आवश्यक अध्ययन र काम अगाडि बढाएको बताउनुभयो । “पर्यटकलाई बिहानपख शुक्लाफाँटामा वन्यजन्तुको अवलोकन गरेर साँझपख दार्चुलाको अपि हिमालको चिसो हावापानीको आनन्द लिन सहयोग पुग्ने खालाका प्याकेज ल्याउनुपर्नेछ”, नाथले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकास र विस्तार नारामा सीमित हुनुहुँदैन ।”

शुक्लाफाँटासँगै मुलुककै एक मात्रै राना थारू घरबास पनि पर्यटकको रोजाइमा पर्छ भने दोधारा चाँदनीलाई जोड्न बनाइएको एशियाकै लामो झोलुङ्गे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो । महाकाली करिडोरको निर्माण बितेको एक दशकमा ३२ प्रतिशत मात्रै भएको छ । चार सय २५ किलोमिटर लम्बाइ रहेको करिडोरको निर्माण भएर सडक सञ्चालन भए ब्रह्मदेवदेखि तिङ्करसम्म यात्रु पर्यटकले दुई दर्जन बढी धार्मिकस्थलको अवलोकन गर्न सहज हुने स्थानीयवासीको भनाइ छ ।

“विसं २०७९÷८० मा सक्ने योजनाका साथ काम थालिएको थियो”, दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले भन्नुभयो, “विविध कारणले अहिलेसम्म १२४ किलोमिटर सडक खुलेर यातायात सञ्चालनमा आएको अवस्था छ ।” बाँकी ३०० किलोमिडर सडक इआइए, विष्फोटक पदार्थको खरिद प्रक्रियामा हुने ढिलासुस्तीलगायतका कारणले पछि परेको उहाँको भनाइ छ ।

“ब्रह्मदेव क्षेत्रमा जङ्गल पर्ने भएकाले इआइए प्रतिवेदन आउन ढिलाइ हुँदा करिडोरको शुरुआत हुने ठाउँकै ठेक्का गर्न सकिएन”, योजना प्रमुख पन्तले रासससित भन्नुभयो, “पुरानाका ठेक्काको धेरै काम अन्तिम चरणमा छ ।” चालू आवमा करिडोरका लागि पूँजीगतमा रु ३१ करोड बजेट रहेको छ । “यो वर्ष पुरानो ठेक्काको रकम भुक्तानीसमेत गरेर करिब रु १५ करोडसम्म रकम खर्च हुनसक्छ”, उहाँले भन्नुभयो, “अझै ५० प्रतिशत रकम फ्रिज जाने सम्भावना छ ।” आयोजनाले दार्चुलामा ११२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ ।

त्यसैगरी बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले महाकाली करिडोर सम्पन्न भएमा समग्र सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुभयो । सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा परेको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर करिडोर छेउमै रहेकाले यहाँ पर्यटक पुग्न सक्ने छोटो मार्ग बन्ने नगरप्रमुख थापाको भनाइ छ । नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र छनोट भएको यहाँ पर्यटक भित्र्याउन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

दशरथचन्द नगरपालिकामा ईश्वरी गङ्गाधाम, निङ्गलाशैनी मन्दिरलगायतका धार्मिक पर्यटकीयस्थल छन् । महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार स्थानीय तहलाई छोएको छ । करिडोरको काम समयमै सम्पन्न हुन सकेमा यहाँका पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । “यही गतिमा काम भएर पर्यटक बढ्लान भन्ने आस गर्नु बेकार हो”, उहाँले भन्नुभयो, “करिडोरको काम अब युद्धस्तरमा हुनुपर्छ ।”

दोगडाकेदारमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल देउलेक केदार, दोगडाधामलगायतका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटनको सम्भावना रहेको दोगडाकेदार–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । “पर्यटनबाट पनि आर्थिक समृद्धिमा टेवा पुग्छ”, वडाध्यक्ष भट्टले भन्नुभयो, “पर्यटन पनि सुदूरपश्चिमको मेरुदण्ड हो, यसको विकास र विस्तारमा सबैको ध्यान जानुपर्छ ।”

शिवनाथमा अमरगढी किल्ला, नागार्जुन मन्दिर, पवित्र तीर्थस्थल नागार्जुनघाट रहेकाले करिडोर सञ्चालनमा आए यहाँ पर्यटक भित्र्याउन सहज हुने शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । बैतडीमा अन्य धार्मिक पर्यटकीय गन्तव्यमा नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मैलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिरलगायतका छन् ।

त्यसैगरी दार्चुलामा पनि महाकाली करिडोर निर्माण समयमै हुनसके यहाँको धार्मिक पर्यटनमा वृद्धि हुने जिल्लावासीले आशा गरेका छन् । “भारतको भन्दा सहज नेपालतिर भएर यात्रा गर्न सकिन्छ”, दार्चुला व्यासका स्थानीयवासी जीतसिंह बोहराले भन्नुभयो, “विगतमा दार्चुलाबाट घोडेटोबाटो हुँदै कैलाश मानसरोवर दर्शन गर्ने यात्रु नेपालकै बाटो प्रयोग गर्ने गरेका थिए ।” उहाँले दुई लेनको करिडोर निर्माण भए पर्यटकलाई समेत झन् सहज हुने बताउनुभयो ।

अहिले यो करिडोरको व्यासको कोठेधारदेखि माथिल्लो ८७ किलोमिटर क्षेत्रमा सेनाले सडकको निर्माण जिम्मा लिने भएपछि स्थानीयवासीसमेत खुशी भएका छन् । केही दिनअघि दार्चुला भ्रमणका क्रममा पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडकको जिम्मा सेनालाई दिने गरी प्रक्रिया अघि बढाइसकेको बताउनुभएको थियो । यसले यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा चीनको ताक्लोकोट जोड्नसमेत सहज हुनेछ ।

“यही सडक भएर चीनको तिब्बतसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्छ”, व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोक बोहराले भन्नुभयो, “सामरिक महत्व बोकेको यो क्षेत्रमा पर्यटक भित्र्याउन यो सडक निर्माण जरुरी छ ।” नेपालतिर बाटो नभएकै कारण चीनसँगको व्यापारमा कमी आएको बताउँदै उहाँले ब्यासमा सुरक्षा चौकी आवश्यक रहेको बताउनुभयो । “व्यासमा सुरक्षा चौकी र सडक सञ्चालन हुने हो भने कैलाश मानसरोवर धार्मिक यात्रा मात्र नभई चीनसँगको व्यापारमा समेत सहजता आउँछ”, वडाध्यक्ष बोहराले भन्नुभयो, “यहाँका अन्य पर्यटकीयस्थलमा आवतजावत गर्न पनि सहज हुन्छ ।”

त्यसैगरी करिडोरले मुलुककै साताँै धाम मालिकार्जुन गाउँपालिकाका केही वडासमेत छोएको छ । “अझै यो सडकलाई जयपुर बन्तोली हुँदै मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन मन्दिरसम्म ल्याउन सके धार्मिक पर्यटनमा सहज हुनेछ”, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले भन्नुभयो, “करिडोर सम्पन्न गर्न जनप्रतिधि र स्थानीयवासीले पनि दबाब दिनुपर्ने बेला आएको छ ।”

सरकारको १०० गन्तव्य सूचीमा परेको मालिकार्जुन मन्दिर यही करिडोर क्षेत्रभित्र परे पनि मन्दिर क्षेत्रभन्दा टाढा छ । तर पनि गाउँपालिकाले करिडोरसँग जोड्ने गरी शङ्करपुर–उकु सडक निर्माण गरेको छ । जौलजीवि–मालिकार्जुन जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारको रु ५० लाख बजेट चालू आवमा विनियोजन गरेको छ । अहिले निर्माण भएका सडकले करिडोरमार्फत लिङ्क सडकको रूपमा मालिकार्जुन गाउँपालिका जोडिन्छ ।

Loading
TOP