दिल्लीको हिन्दू मुस्लिम दंगामा २० जना मारिए, कफ्यू लगाएर सेना परिचालन गर्न माग

दिल्लीको हिन्दू मुस्लिम दंगामा २० जना मारिए, कफ्यू लगाएर सेना परिचालन गर्न माग

१४ फागुन, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तर पूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनलाई लिएर भड्केको हिंसाबाट २० जनाको मृत्यु भएको छ । सोमबारदेखि भड्केको हिंसा हिन्दू मुस्लिम दंगामा परिणत भएको छ । हालसम्म १९ सर्वसाधरण र एक प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नागरिकता संशोधन कानुनको समर्थन र विरोधमा भएको हिंसा सुरक्षाकर्मीको काबुभन्दा बाहिर गएको छ । नागरिकता कानुनका पक्षधरहरुले निकालेको र्यालीमा संधोधन विधेयकका बिपक्षहरुले आपत्ति जनाउँदै सडकमा आएका थिए । त्यसपछि दुई समुदायबीच झडप शुरु भएको थियो । झडप अहिले हिन्दू मुस्लिम दंगामा परिणत भएको छ । हिन्दूहरुले मुस्लिममाथी र मुस्लिमहरुले हिन्दूमाथी आक्रमण गरिरहेका छन् ।
हिन्दू मुस्लिम दंगाका कारण भारतको राजधानी दिल्ली बारुदमा परिणत भएको छ । हिंसाका कारण २० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी ब्यक्ति घाइते भएका छन् । घाइते भएका मध्ये अधिकाँसमाथी गोली लागेको छ भने कतिपयलाई चक्कु प्रहार गरिएको छ ।
तीन दिनदेखि चलेको हिंसाग्रस्त स्थानमा राष्ट्रीय सुरक्षा सलाहकार अजित डोवालले भ्रमण गरेका छन् । हिंसाग्रस्त क्षेत्रबाट आएलगतै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिएका छन् । उता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कफ्यू लगाएर सेना परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका छन् । उनले केन्द्र सरकारसँग माग गरेलगतै डोवालले भ्रमण गरेका हुन् ।

Loading
TOP