संस्थापनइतर समूहबाट महामन्त्री लड्ने धनराज गुरूङको घोषणा

संस्थापनइतर समूहबाट महामन्त्री लड्ने धनराज गुरूङको घोषणा

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आफू महामन्त्री पदको तयारीमा व्यस्त रहेको बताएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने गुरुङको तयारी छ । बाह्रखरीसँग कुराकानी गर्दै गुरुङले आफू महामन्त्रीको स्वाभाविक उमेदवार हुने बताए ।

महामन्त्रीको उमेदवारबाट जस्तोसुकै परिस्थितिमा पनि आफू पछि नहट्ने गुरुङको दाबी छ । आफ्नो पद र उमेदवारीको विषयलाई लिएर शीर्ष नेताहरूसँग कुरा राखिसकेको उनले बताए । महामन्त्री देखाएर सहमहामन्त्री पो खोजेको हो कि भन्ने प्रश्नलाई गुरुङले ठाडै अस्वीकार गरे । “सबै कुरा मिल्दै छ, नेताहरूसँग दिनहुँ छलफल भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “महामन्त्रीबाट ब्याक हुने अवस्था आउँदैन ।”

१३औँ महाधिवेशनमा पौडल समूहबाट गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०५२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका गुरुङ ०७० मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । अहिले संस्थापनइतर समूहबाट उमेदवार बन्ने उनको तयारी छ । “म अहिले महामन्त्रीमा उमेदवारी घोषणा गरेकाहरूभन्दा सिनियर हो, मैले नेपाल विद्यार्थीको ‘ग्रासरुट’ राजनीति गर्दै संविधानसभा सदस्य र केन्द्रीय सदस्य बनेको हुँ,” उनले भने, “महाधिवेशनमा इतर समूहबाट महामन्त्री लड्छु र जितेर देखाउँछु ।”

Loading
TOP