थाइल्याण्डमाथि नेपालको ९ विकेटको जित

थाइल्याण्डमाथि नेपालको ९ विकेटको जित

२१ फागुन, काठमाडौँ । एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता अन्तर्गत नेपाल आयोजक थाइल्याण्डलाई पराजित गरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरको हो ।

थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि कुशल मल्लले आक्रामक ब्याटिंग गर्दै १८ बलमा ३७ रन बनाए भने पवन सराफले १० बलमा २७ रन बनाएका थिए ।

त्यस्तै पुर्व कप्तान पारस खड्का ९ रन बनाएर आउट भएका थिए ।   

यस अघि थाइल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाललाई ६७ रनको लक्ष्य दिएको थियो ।

थाइल्याण्डले २० ओभरमा अल आउट हुदै ६६ रन बनाएको हो । थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन र फिरियापोंगले अविजित १३ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले अतिरिक्त रनको रुपमा १७ रन दिएको थियो ।

नेपाली बलर करण कसीले सर्वाधिक ३ विकेट लिए । करणले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै अविनाश बोहोराले २ विकेट लिए भने सन्दीप लामिछाने र भुवन कार्कीले एक एक विकेट लिएका थिए । नेपालले तीन खेलाडीलाई रन आउट गरेको थियो । 

सन्दीपले ४ ओभरमा ९ रन दिएर एक विकेट लिए भने भुवनले ४ ओभरमा ६ रन दिएर एक विकेट लिएका थिए । 

नेपालले यस अघि मलेसिया र हङकङसँगका दुवै खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जित हासिल गरेको छ । नेपाल एशिया कपमा छनौट हुने सम्भावना भने लगभग सकिएको छ ।

सिंगापुर, हङकङ र मलेसिया आफ्ना २-२ खेल जितेर ४-४ अंकका साथ पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने नेपाल २ अंकसहित चौथो स्थानमा रहेको छ ।

नेपालले अन्तिम खेल सिंगापुरविरुद्ध शुक्रबार खेल्दै छ ।      

Loading
TOP