डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित पुगे चिकित्सक टोली

डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित पुगे चिकित्सक टोली

२१ फागुन, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाब लगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ ।

रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा पुगेका हुन् । नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ ।

त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट गएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए ।

हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरल लगायतका आवश्यक औषधि समेत बोकेर लगेको रावलले बताए ।

प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् ।

पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् ।

डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगका विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Loading
TOP