जर्मनीमा चुनाव भयो तर नयाँ चान्सलरको टुंगो लागेन

जर्मनीमा चुनाव भयो तर नयाँ चान्सलरको टुंगो लागेन

बर्लिन, असोज १३ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा अब केही समय कामचलाउ सरकारले देश चलाउने देखिएको छ। गत आइतबार आमनिर्वाचन भएर परिणाम आए पनि उक्त चुनावबाट नयाँ सरकार बनाउन कुनै एक दलले स्पष्ट जनादेश नपाएकाले गठबन्धनको सरकार बनाउनु पर्ने भएको हो।

बेलायती समाचार पत्र द गार्डियनका अनुसार नयाँ चान्सलर बन्नका लागि तल्लो सदन बुन्डेस्ट्यागमा ३६८ सिट चाहिन्छ।  चुनावबाट कुनै पनि दलले त्यति सिट जितेका छैनन्। सबैभन्दा बढी सिट जितेको सोसियल डेमोक्रेटिक पार्टीले २०६ सिट हात पारेको छ। अघिल्लो चुनाव (२०१७) भन्दा उसले यसपालि ५३ सिट बढी जिते पनि नयाँ चान्सलर बनाउन उक्त संख्या पुग्दैन।

१६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनले १९६ सिट पाएको छ। गत चुनावभन्दा ५० सिट कम ल्याएको उक्त पार्टीले दोस्रो विश्वयुद्धपछि पाएको यो सबैभन्दा कम मत हो। द न्युयोर्क टाइम्सका अनुसार दोस्रो विश्वयुद्धपछि जर्मनीमा चान्सलर बनेका आठमध्ये पाँच जना यही पार्टीका थिए। पार्टीले इतिहासकै कम सिट जिते पनि चान्सलरका दाबेदार आर्मिन लासेटले नयाँ सरकार बनाउने योजना छोडेका छैनन्।

गठबन्धन सरकारका लागि तेस्रो ठूलो दल ग्रिन पार्टीको पनि महत्वपूर्ण भूमिका हुने देखिएको छ। अघिल्लो चुनावभन्दा यसपालि ५१ सिट बढी जितेर अहिले उसले सांसद संख्या ११८ पुर्‍याएको छ।  नयाँ  बुन्डेस्ट्यागमा फ्री डेमोक्रेटिक पार्टीका ९२, अल्टरनेटिभ फर जर्मनीका ८३ र लेफ्टका ३९ जना सांसद हुने भएका छन्। यी दलमध्ये कसले कोसँग गठबन्धन गरेर सरकार बनाउँछन् भन्ने टुंगो छैन।

गार्डियनका अनुसार नयाँ सरकारका लागि पाँच वटा गठबन्धन बन्न सक्छन्। जर्मनीमा पार्टीहरूले विभिन्न रङलाई आफ्नो संकेतका रूपमा प्रयोग गर्छन्। सोसियल डेमोक्रेटिकले रातो,  क्रिश्चियन डेमोक्रेटिक युनियनले कालो,  ग्रिनले हरियो, फ्री डेमोक्रेटिक पार्टीले पहेँलो, अल्टरनेटिभ फर जर्मनीले निलो र लेफ्टले वैजनी रङको प्रयोग गर्छन्।

ती दलहरूबीच गठबन्धन बन्दा कुन-कुन रङ एक ठाउँमा आउँछन् त्यसका आधारमा गठबन्धनको नाम दिने गरिएको छ। ट्राफिक लाइट गठबन्धन (सोसियल डेमोक्रेटिक अर्थात् रातो, फ्री डेमोक्रेटिक पार्टी अर्थात् पहेँलो र ग्रिन अर्थात् हरियो)  बन्यो भने ४१६ सिट पुग्छ।

सबैभन्दा ठूला दुई दल मिलेर पनि सरकार बनाउन सक्छन्। यसअघि पनि  सोसियल डेमोक्रेटिक पार्टी क्रिश्चियन डेमोक्रेटिक पार्टीले नेतृत्व गरेको सरकारमा गएको इतिहास छ। सबैभन्दा ठूला तीन दल मिलेर पनि नयाँ सरकार बनाउन सक्छन्। उक्त गठबन्धनलाई केन्या गठबन्धन भनिन्छ। केन्याको झन्डामा भएका तीन रङ रातो, कालो र हरियोलाई प्रतिनिधित्व गर्ने भएकाले ती दलहरूबीचको गठबन्धनलाई केन्या गठबन्धन भनिएको हो।

नयाँ सरकारका लागि जमैका गठबन्धन पनि बन्न सक्छ। जमैकाको झन्डाका तीन रङ प्रयोग गर्ने (क्रिश्चियन डेमोक्रेटिक अर्थात् कालो, फ्री डेमोक्रेटिक पार्टी अर्थात् पहेँलो र ग्रिन अर्थात् हरियो) तीन दल मिल्दा ४०६ सिट पुग्छ। सबैभन्दा ठूला दुई दलले चौथो ठूलो दल फ्री डेमोक्रेटिक पार्टीसँग मिलेर पनि गठबन्धनमा  बनाउन सक्छन्। गठबन्धन बनाउन दलहरूबीच लेनदेनका धेरै विषय मिल्नुपर्ने भएकाले  जर्मनीमा मर्केलको उत्तराधिकारी टुंग्याउन समय लाग्ने भएको हो।

Loading
TOP